लुम्बिनीमा महिलाको स्वास्थ्यमा जोड : क्यान्सर सचेतनासहित निःशुल्क शिविर सम्पन्न

महिलाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोग तथा बुद्धभूमि आमा समूहको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिद्धार्थनगर सिटी हस्पिटलको प्राविधिक सहयोग र चेम्बर अफ कमर्सको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरले स्थानीय महिलाहरूलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरेको हो।

नगरस्तरमै सञ्चालन गरिएको शिविर कृष्ण बहादुर गुरुङ तथा बुद्धभूमि आमा समूहकी अध्यक्ष मिरा गौतमको संयोजकत्वमा सम्पन्न भएको थियो। शिविरमा करिब एक सय महिलाहरूले निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण तथा विशेषज्ञ परामर्श सेवा प्राप्त गरेका छन्।

विशेषगरी पाठेघर (सर्भाइकल) क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक पहिचान, परीक्षण तथा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको थियो। विशेषज्ञ चिकित्सकहरूले महिलाहरूलाई क्यान्सरका प्रारम्भिक लक्षण, नियमित स्वास्थ्य परीक्षणको आवश्यकता तथा समयमै उपचार गराउँदा हुने फाइदाबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समय महिलाहरूमा क्यान्सरको जोखिम बढ्दै गएको उल्लेख गर्दै समयमै परीक्षण र सचेतना अभिवृद्धि नै यसको प्रमुख समाधान भएको बताएका थिए। उनीहरूले स्वास्थ्य सेवा केवल उपचारमा सीमित नभई रोकथाम र सचेतनासँग पनि जोडिएको विषय भएकोमा जोड दिएका थिए।

शिविरमा सहभागी महिलाहरूले यस्ता कार्यक्रमले स्वास्थ्यप्रति चेतना बढाउनुका साथै आर्थिक रूपमा कमजोर परिवारका महिलाहरूलाई ठूलो राहत पुगेको बताएका छन्। नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने महिलाहरूका लागि गाउँमै विशेषज्ञ सेवा उपलब्ध हुनु निकै महत्वपूर्ण भएको उनीहरूको भनाइ थियो।

विशेषगरी ग्रामीण तथा अर्धशहरी क्षेत्रका महिलाहरूमा पाठेघर र स्तनसम्बन्धी रोगबारे पर्याप्त जानकारी नहुँदा समस्या जटिल बन्ने गरेको भन्दै यस्ता शिविरले समयमै रोग पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, विद्वया गौतम लगायतका चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण गरेको उक्त कार्यक्रममा नगरप्रमुख कल्पना हरिजन, सामाजिक विकास प्रमुख शेषराम यादव, बुद्धभूमि आमा समूहका पदाधिकारी, तेनुहवा स्वास्थ्यकर्मी तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजक संस्थाले आगामी दिनहरूमा पनि महिलाको स्वास्थ्य, सुरक्षा र सचेतनालाई केन्द्रमा राखेर यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने जनाएको छ। स्थानीयवासीले पनि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5