२५७०औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको सम्पूर्ण तयारी पूरा

२५७०औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। लुम्बिनी विकास कोषले लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रमको तयारीबारे विस्तृत जानकारी दिएको हो।

कोषका अनुसार यस वर्षको बुद्ध जयन्तीको मूल कार्यक्रम २०८३ साल वैशाख १८ गते आयोजना गरिनेछ भने पूजा–परित्राण कार्यक्रम वैशाख १७ गते बेलुकादेखि वैशाख १८ गते बिहानसम्म सञ्चालन हुनेछ। मुख्य धार्मिक कार्यक्रम लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहान ५ बजेदेखि सुरु हुने जनाइएको छ।

यस अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहको सहभागिता रहने बताइएको छ। साथै देवदह, रामग्राम र कपिलवस्तु लगायतका ऐतिहासिक बौद्ध स्थलहरूमा दीप प्रज्वलन कार्यक्रम पनि गरिनेछ। यसले सम्पूर्ण क्षेत्रमा आध्यात्मिक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले विगतका वर्षहरूमा तामझामका साथ बुद्ध जयन्ती मनाइँदै आए पनि यस वर्ष कार्यक्रमलाई सरल, मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गरिने बताए। उनका अनुसार यसपटक औपचारिकता भन्दा पूजा–पाठ, आध्यात्मिकता र शान्तिको सन्देशलाई प्राथमिकता दिइएको छ।

उनले बुद्ध जयन्तीलाई विश्व शान्ति, सहिष्णुता र मानवीय एकताको सन्देशसँग जोडेर मनाउन खोजिएको बताए। लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र स्थल भएकाले यसको गरिमा कायम राख्दै धार्मिक महत्वलाई केन्द्रमा राखिएको उनको भनाइ छ।

यता, गत वर्षको बुद्ध जयन्तीका क्रममा प्रचार–प्रसार तथा मूल कार्यक्रमको छायाङ्कन र प्रसारण बापतको रकम हालसम्म पनि भुक्तानी नभएको भन्दै राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनी र प्रकाशन तथा प्रसारण समाज लुम्बिनीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन्।

दुवै संस्थाले लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराउँदै तत्काल बक्यौता रकम भुक्तानी गर्न माग गरेका छन्। उनीहरूले समयमै भुक्तानी नभए कानुनी तथा संस्थागत रूपमा आवश्यक र सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन्।

यस विषयले बुद्ध जयन्तीको तयारीसँगै आर्थिक पारदर्शिता र सञ्चार संस्थाप्रतिको जिम्मेवारीबारे पनि प्रश्न उठाएको छ। आयोजकले भने यस वर्षको कार्यक्रमलाई विवादरहित, शान्त र सफल बनाउन सबै पक्षसँग समन्वय भइरहेको जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5