
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने करिब ४० किलोमिटर लामो धानखोला–लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले शिलान्यास गर्दै निर्माण कार्यको शुभारम्भ गरेका हुन ।
यसपटक सडक स्तरोन्नतिमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन ९एफडीआर० र सुपरपेभ आस्फाल्टजस्ता आधुनिक प्रविधि प्रयोग गरिने भएको छ। यी प्रविधिले पुराना निर्माण सामग्रीलाई पुनः प्रशोधन गरी प्रयोग गर्ने भएकाले सडकलाई थप बलियो, टिकाउ र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

आयोजनाअन्तर्गत सडकको दुवैतर्फ ७ मिटर चौडा क्यारिजवे तथा २.५–२.५ मिटर सोल्डर निर्माण गरिनेछ। यससँगै कुल १२ मिटर चौडाइको स्तरीय सडक निर्माण हुनेछ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले आधुनिक प्रविधिको प्रयोगले सडक पूर्वाधारमा नयाँ उदाहरण स्थापित गर्ने बतए। उनले सडक स्तरोन्नतिले यात्रालाई सुरक्षित र सहज बनाउनुका साथै स्थानीय व्यापार, कृषि तथा उद्यम क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले यस परियोजनालाई नेपाल–अमेरिका सहकार्यको महत्वपूर्ण नमुना भएको बताउनुभयो। उहाँले ढुवानी लागत घटाउने, सडक सुरक्षा बढाउने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले परियोजना अघि बढाइएको स्पष्ट पारे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसिए–नेपालको लगानी सरकारका पूर्वाधार योजनाको पूरक भएको बताउँदै यसले आर्थिक अवसर विस्तारमा योगदान पुर्याउने उल्लेख गरे।
एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले दीर्घकालीन रूपमा लागत प्रभावकारी र गुणस्तरीय पूर्वाधार निर्माणमा यो प्रविधिले सहयोग गर्ने बताए।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको महत्वपूर्ण परियोजना भएको उल्लेख गर्दै पारदर्शिता र गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता ब्यक्त गरे।
निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले पाएको हो। कम्पनीका प्रतिनिधि सौरभ शर्माले निर्धारित २४ महिनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सन् २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको उक्त परियोजनामा भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर अर्थात् करिब ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

















