सिद्धार्थनगर सिटी हस्पिटलको ‘सुलभ उपचार कार्यक्रम’

कम आय भएका र स्वास्थ्य सेवामा पहुँच कम भएका नागरिकलाई लक्षित गर्दै वैशाख १६ देखि सस्तो दरमा ओपिडी, आईसीयू, सिटी स्क्यानदेखि निःशुल्क शल्यक्रियासम्मको सुविधा उपलब्ध हुने

स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता हो । तर आर्थिक अभावकै कारण धेरै नागरिक समयमै उपचारबाट वञ्चित हुने गरेका छन् । विशेषगरी निजी अस्पतालमा उपचार महँगो हुने, लामो समय कुर्नुपर्ने, अपरेशनका लागि महिनौं पालो पर्खिनुपर्ने तथा सम्मानजनक व्यवहार नपाइने गुनासो सर्वसाधारणबाट बारम्बार सुनिँदै आएको छ । यही यथार्थलाई मध्यनजर गर्दै सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. ले “सुलभ उपचार कार्यक्रम” सुरु गर्ने घोषणा गरेको छ ।

लुम्बिनी रोड, भैरहवामा रहेको अस्पतालले कम आय भएका तथा स्वास्थ्य सेवामा पहुँच कम भएका नागरिकलाई लक्षित गर्दै आगामी वैशाख १६ गतेदेखि यो कार्यक्रम लागू गर्ने जनाएको छ । अस्पतालले निजी स्वास्थ्य संस्था हुँदाहुँदै पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम ल्याएको बताएको छ ।

अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक अर्जुन पौडेलले स्वास्थ्य सेवा केवल व्यापारको विषय नभई सामाजिक दायित्व पनि भएको उल्लेख गरे । उनका अनुसार कम शुल्कमा सेवा लिन चाहने बिरामीहरूले सरकारी अस्पतालमा अत्यधिक भीड, लामो लाइन, परीक्षणका लागि ढिलाइ, अपरेशनका लागि महिनौंसम्मको प्रतीक्षा, स्वच्छ वातावरणको अभाव र कहिलेकाहीँ सम्मानजनक व्यवहार नपाउने समस्या भोग्दै आएका छन् ।

“हामीले निजी अस्पतालको सेवा र वातावरणलाई सर्वसाधारणको पहुँचभित्र ल्याउने प्रयास गरेका छौं,” उनले भने, “आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।”

कार्यक्रम अन्तर्गत ओपिडी टिकट १५० रुपैयाँमा उपलब्ध हुनेछ भने जनरल वार्ड शुल्क ५०० रुपैयाँ निर्धारण गरिएको छ । आईसीयू सेवा प्रतिदिन २ हजार २ सय रुपैयाँ, एनआईसीयू सेवा प्रतिदिन २ हजार रुपैयाँ, सिटी स्क्यान ९हेड० ३ हजार ५ सय रुपैयाँ र भिडियो एक्स–रे ८०० रुपैयाँमा उपलब्ध गराइने अस्पतालले जनाएको छ । यससँगै विभिन्न शल्यक्रिया तथा अपरेसन प्याकेजहरू समेत सुलभ दरमा उपलब्ध गराइनेछन् ।

विशेषगरी गरीब तथा विपन्न वर्गलाई लक्षित गर्दै अस्पतालले प्रत्येक महिना एक–एक जनालाई पित्तथैलीको पत्थरी, नाक–कान–घाँटी तथा पाठेघरसम्बन्धी शल्यक्रिया निःशुल्क गर्ने योजना पनि सार्वजनिक गरेको छ । अस्पतालका अनुसार यस्तो सेवा अत्यन्त गरीब तथा असहाय बिरामीलाई आवश्यक प्रक्रिया पूरा गरी उपलब्ध गराइनेछ ।

सुलभ ओपिडी सेवा लिन चाहने बिरामीले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ । यसले सेवा व्यवस्थापनलाई सहज बनाउने र बिरामीलाई समयमै उपचार उपलब्ध गराउने विश्वास अस्पतालले लिएको छ ।

अस्पतालले नेपाल सरकारको निर्देशनअनुसार १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ । साथै गरिब तथा विपन्न नागरिकका लागि निःशुल्क डायलाइसिस सेवा, सामाजिक सुरक्षा कोष अन्तर्गतका विभिन्न स्वास्थ्य कार्यक्रम तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यहरू पनि निरन्तर सञ्चालन हुँदै आएको जानकारी दिइएको छ ।

स्वास्थ्य सेवा क्षेत्रमा निजी अस्पतालहरूको भूमिका केवल सेवा प्रदायकका रूपमा सीमित नरही सामाजिक उत्तरदायित्वसँग जोडिनुपर्ने बहस भइरहेका बेला सिद्धार्थनगर सिटी हस्पिटलको यो पहललाई सकारात्मक रूपमा हेरिएको छ । विशेषगरी सीमित आय भएका परिवारका लागि यस्तो कार्यक्रम राहत बन्न सक्ने स्थानीयको अपेक्षा छ ।

स्वास्थ्य सेवामा पहुँच सबैको समान अधिकार हो भन्ने मान्यतालाई व्यवहारमा उतार्ने प्रयासस्वरूप सुरु गरिएको “सुलभ उपचार कार्यक्रम” ले धेरै नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिएको छ । उपचार महँगो छ भन्ने धारणा तोड्दै सम्मानजनक, स्वच्छ र सुलभ सेवा प्रदान गर्न सकिए निजी स्वास्थ्य संस्था पनि जनविश्वासको केन्द्र बन्न सक्ने उदाहरण यस कार्यक्रमले प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5