
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. ले कम आय भएका तथा स्वास्थ्य सेवामा पहुँचबाट वञ्चित नागरिकलाई लक्षित गर्दै सुलभ उपचार कार्यक्रम सुरु गरेको छ। अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा सस्तो र सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित कार्यक्रम लागू गरिएको जनाएको छ।
अस्पतालका प्रवन्ध निर्देशक अर्जुन पौडेल का अनुसार कम शुल्कमा सेवा लिन खोज्ने बिरामीहरूले लामो समय लाइन बस्नुपर्ने, अपरेसनका लागि महिना कुर्नुपर्ने, स्वच्छ वातावरणको अभाव हुने तथा स्वास्थ्यकर्मीबाट पर्याप्त समय र व्यवहार नपाउने जस्ता समस्यालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम सुरु गरिएको हो। उनले सस्तो उपचारका नाममा गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

यस कार्यक्रमअन्तर्गत अस्पतालले विभिन्न सेवामा सहुलियत दर निर्धारण गरेको छ। ओपिडी टिकट १५० रुपैयाँ, जनरल वार्ड ५०० रुपैयाँ, आईसीयू सेवा प्रतिदिन २२०० रुपैयाँ, सिटी स्क्यान ३५०० रुपैयाँ, भिडियो एक्सरे ८०० रुपैयाँ तथा एनआईसीयू सेवा प्रतिदिन २००० रुपैयाँमा उपलब्ध गराइँदै आएको छ। यसले आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा सहजता प्रदान गर्ने विश्वास अस्पतालले लिएको छ।
त्यसैगरी, अस्पतालले हरेक महिना एक जना विपन्न बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। यसअन्तर्गत पित्तथैलीको पत्थरी, नाक–कान–घाँटी तथा पाठेघरसम्बन्धी अपरेसन निःशुल्क गरिँदै आएको छ।
सुलभ ओपिडी सेवा लिन चाहने बिरामीहरूले बिहान ७ बजेदेखि ९ बजेसम्म टिकट लिनुपर्ने व्यवस्था गरिएको छ। साथै, नेपाल सरकार को निर्देशनअनुसार १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा प्रदान गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले यसअघि पनि गरिब तथा विपन्न वर्गका लागि निःशुल्क डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ। सामाजिक सुरक्षा कोषअन्तर्गतका विभिन्न स्वास्थ्य कार्यक्रमहरू समेत निरन्तर सञ्चालन भइरहेका छन्।
यस कार्यक्रम सुरु भएसँगै आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, यस्तो पहलले निजी स्वास्थ्य संस्थाहरूलाई सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरिएको छ।

















