
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। शनिबार युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस यू.सि.एम.एस भैरहवाको प्राविधिक सहयोगमा गाउँपालिका वडा नं. ५ स्थित बोधबार स्वास्थ्य चौकीमा प्रजनन उमेर समूहका महिलाहरूको प्रजनन रोगसम्बन्धी विशेष स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। ग्रामीण तथा विकट क्षेत्रका महिलाहरूलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
शिविरमा महिलाहरूको प्रजनन स्वास्थ्य परीक्षणसँगै छाला, मुटु, नाक, कान, घाँटी तथा आँखा सम्बन्धी विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो। विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्शसमेत दिएको थियो। स्थानीय महिलाहरूले घर नजिकै विशेषज्ञ सेवा पाउँदा आफूहरूलाई निकै राहत मिलेको बताएका छन्।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाले यू.सि.एम.एससँग सहकार्य गर्दै स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले विशेषगरी विकट गाउँका नागरिकलाई लक्षित गर्दै यस्ता निःशुल्क स्वास्थ्य शिविरले प्रत्यक्ष रूपमा जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। अध्यक्ष यादवले वडा नं. ५ का महिलाहरूले आफ्नै गाउँमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन पाउनु महत्वपूर्ण उपलब्धि भएको भन्दै स्वास्थ्य शाखा, चिकित्सक टोली तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरे।
उनले गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्ने र ग्रामीण बस्तीमा अझ बढी यस्ता शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता हो, त्यसैले सेवा गाउँमै पुर्याउने हाम्रो प्रयास निरन्तर रहनेछ,” उनले बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले पनि गाउँपालिका र यू.सि.एम.एसबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले स्वास्थ्य सेवामा पहुँच नपुगेका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्नु स्थानीय सरकारको दायित्व भएको बताए।
यू.सि.एम.एस भैरहवाका जनसम्पर्क अधिकृत तेज के.सी.ले महिला रोग विशेषज्ञसहित विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीबाट सेवा प्रदान गरिएको जानकारी दिए। उनले स्वास्थ्य समस्याका कारण अस्पतालसम्म पुग्न नसक्ने बिरामीहरूलाई लक्षित गर्दै यस्तो शिविर सञ्चालन गरिएको बताए। साथै शिविरमा जाँच गराएका बिरामीहरूलाई एक महिनासम्म अस्पतालमा आउँदा टिकट निःशुल्क, अन्य उपचारमा २० प्रतिशतसम्म छुट तथा बेड शुल्कमा समेत सहुलियतको व्यवस्था गरिएको जानकारी दिए।
डाजेन्द्र प्रसाद नेपालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष इन्द्रभान चौधरीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्न सुझाव दिएका थिए।
स्वास्थ्य शाखा प्रमुख डोजेन्द्र प्रसाद नेपालका अनुसार उक्त शिविरबाट वडा नं. ५ का २५५ जना महिलाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिएका छन्। उनले ग्रामीण क्षेत्रका महिलाहरूमा अझै पनि स्वास्थ्य सचेतनाको कमी रहेको भन्दै यस्ता शिविरले समयमै रोग पहिचान र उपचारमा ठूलो सहयोग पुग्ने बताए।
रोहिणी गाउँपालिकाले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम तथा विशेषज्ञ सेवा गाउँस्तरमै पुर्याउने योजना बनाएको जनाएको छ। स्थानीयवासीले पनि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न माग गरेका छन्। गाउँपालिकाको यो प्रयासले ग्रामीण महिलाहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

















