
पछिल्लो समय इन्धनजन्य पदार्थको निरन्तर मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको छ। डिजेल र पेट्रोलको भाउ निरन्तर बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव निर्माण सामग्रीको ढुवानीदेखि सम्पूर्ण परियोजनाको सञ्चालनमा परेको निर्माण व्यवसायीहरूले बताएका छन्।
भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण व्यवसायी संघ रुपन्देहीले जिल्ला प्रशासन कार्यालय हुँदै सरकारलाई बुझाएको ज्ञापनपत्रमा इन्धन मूल्यवृद्धिबाट उत्पन्न बहुआयामिक समस्याबारे जानकारी गराइएको छ। निवर्तमान अध्यक्ष विनय ज्ञवालीका अनुसार इन्धन महँगिएसँगै सिमेन्ट, डन्डी लगायत आधारभूत निर्माण सामग्रीको मूल्य पनि बढेको छ भने कतिपय अवस्थामा अभावसमेत देखिएको छ, जसले निर्माण कार्यको गति सुस्त बनाएको छ।

व्यवसायीहरूका अनुसार समस्या केवल मूल्यवृद्धिसम्म सीमित छैन। बजारमा बढ्दो लागतअनुसार ठेक्का सम्झौतामा मूल्य समायोजन गर्न नसक्ने विद्यमान कानुनी व्यवस्था उनीहरूका लागि थप चुनौती बनेको छ। लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठले “मूल्य समायोजन मार्गनिर्देशन–२” तत्काल लागू गर्नुपर्ने माग गर्दै वर्तमान नीति व्यवहारिक नभएको बताए।
संघले निर्माण क्षेत्रलाई जोगाउन ‘आपतकालीन अवस्था’ घोषणा गरी राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। अधुरा आयोजनाहरू समयमै सम्पन्न गर्न विशेष नीति र कार्यक्रम आवश्यक रहेको उनीहरूको जोड छ।
निर्माण क्षेत्रलाई देशको पूर्वाधार विकासको मेरुदण्ड मानिन्छ। तर लागत असन्तुलन, सामग्री अभाव र नीतिगत जटिलताका कारण यो क्षेत्र अहिले दबाबमा परेको छ। समयमै उचित हस्तक्षेप नभएमा यसको असर केवल निर्माण व्यवसायीहरूमा मात्र सीमित नरही समग्र आर्थिक गतिविधिमा समेत पर्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्।
यस्तो अवस्थामा सरकार, नीति निर्माता र निजी क्षेत्रबीच प्रभावकारी समन्वय अपरिहार्य देखिन्छ। अन्यथा विकासका लक्ष्यहरू कागजमै सीमित हुने जोखिम बढ्दै जानेछ।
पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष प्रितम रौनियार, पूर्व महासचिव प्रयास खड्का, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी लगायतको उपस्थिति रहेको थियो।




