
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्ट ले बुधबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ ग्रहण कार्यक्रम नेपाल पर्यटन बोर्ड को कार्यालयमा सम्पन्न भएको थियो।

सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच मन्त्रिपरिषद् हेरफेर गर्ने सहमतिअनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता खगराज अधिकारी बीच समझदारी भएपछि नयाँ मन्त्रीहरू नियुक्त भएका हुन्।
कांग्रेसबाट जित शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्दु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्।
त्यसैगरी एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन्।
मन्त्रिपरिषद् पुनर्गठनसँगै गण्डकी प्रदेश सरकारमा शक्ति सन्तुलन कायम गर्ने प्रयास गरिएको जनाइएको छ।

















