
होटल व्यवसायी महासंघ नेपालको महासचिव पदमा भैरहवाका युवा पर्यटन व्यवसायी राजेश महोत्रा क्षेत्री निर्विरोध चयन भएका छन्। महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १३औँ वार्षिक साधारण सभाबाट उनी महासचिवमा चयन भएसँगै लुम्बिनी क्षेत्रको प्रतिनिधित्व राष्ट्रिय स्तरमा थप सशक्त बनेको छ।
पोखरामा सम्पन्न महाधिवेशनले टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। रुपन्देही बाट उपाध्यक्ष मोदनाथ बेल्बासे, महासचिवमा राजेश महोत्रा क्षेत्री, सचिवमा लाल बहादुर के.सी. तथा सदस्यहरुमा राम प्रसाद पोखरेल, लेखनाथ भण्डारी र शिवराज पोखरेल को चयनलाई पर्यटन व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्।

हाल होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष रहेका क्षेत्री भैरहवास्थित होटल सनस्टार इन्टरनेशनल प्रालि का सञ्चालक समेत हुन्। साथै उनी पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश का सदस्यका रूपमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। लामो समयदेखि पर्यटन तथा आतिथ्य क्षेत्रमा सक्रिय उनले स्थानीय स्तरबाट व्यवसाय सुरु गर्दै क्रमशः संस्थागत नेतृत्वसम्मको यात्रा तय गरेका हुन्।
उनको नेतृत्वमा रुपन्देहीका होटल व्यवसायीहरूलाई एकीकृत गर्दै विभिन्न व्यवसायिक समस्या समाधान, नीति संवाद र पर्यटन प्रवर्द्धनका गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। विशेषगरी लुम्बिनी–भैरहवा क्षेत्रमा बढ्दो पर्यटक आगमनलाई व्यवस्थित गर्न तथा सेवा गुणस्तर अभिवृद्धि गर्न उनले खेलेको भूमिका उल्लेखनीय मानिन्छ।
महासचिवमा निर्वाचित भएपछि राजेश महोत्रा क्षेत्री ले संस्थागत सुधार र पारदर्शितालाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन्। उनले होटल व्यवसायीहरूको हकहितका लागि आवश्यक परे कानुनी लडाइँसमेत लड्ने, पर्यटन प्रवर्द्धनमा सक्रिय नेतृत्व दिने र व्यवसायीबीच सहकार्य तथा समन्वय बढाउने योजना अघि सारेका छन्।
उनले संकट व्यवस्थापन प्रणाली विकास, व्यवसायीहरूको नेटवर्क विस्तार, सदस्य–केन्द्रित सेवा प्रभावकारी बनाउने, नीतिगत सुधारका लागि सरकारसँग सहकार्य गर्ने तथा तालिम र क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गरे। “होटल व्यवसायलाई सुरक्षित, व्यवस्थित र प्रतिस्पर्धी बनाउँदै लैजानु आजको आवश्यकता हो,” उनले भने।
अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले पनि नयाँ कार्यसमितिले महासंघलाई अझ सुदृढ, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्। उनले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै पर्यटन क्षेत्रको समग्र विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
पर्यटन व्यवसायीहरूका अनुसार राजेश महोत्रा क्षेत्री को महासचिव पदमा चयनले लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्न उनको भूमिका महत्वपूर्ण रहने विश्वास गरिएको छ।




