
दाङको घोराहीमा आजदेखि प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुुरु भएको छ । प्रतियोगितामा विभिन्न १२ जिल्लाका महिला र पुरुष भलिबल टिम सहभागि भएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई खेल पर्यटनको रुपमा पनि विकास गर्न सकिने बताएका छन् । उनले खेलकुद मार्फत पनि पर्यटन विकास गर्न सकिने आधारहरु धेरै रहेको बताए ।

प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा सुुरु भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगिता–२०८२ मा प्रदेशका १२ जिल्लाका टिमहरु सहभागि रहेका छन् ।
सो अवसरमा खेलकुदको विकासको लागि प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमले बताए ।
प्रतियोगितामा प्रदेशका प्रत्येक जिल्लाबाट महिला तथा पुरुष टोली सहभागी भएका छन् । प्रत्येक टोलीमा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन गरिनेछ भने लिगकम नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताका विजेताले नगद १ लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टोलीले ६५ हजार, तृतीयले ३५ हजार र सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।
उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।
गत वर्ष पुरुषतर्फ गुल्मी र महिलातर्फ पाल्पा प्रथम भएका थिए । यस वर्ष पुरुष र महिला दुवै प्रतियोगिता एकैसाथ सञ्चालन गरिएको हो । अघिल्लो वर्ष पुरुष प्रतियोगिता अर्घाखाँचीको सन्धिखर्कमा र महिला प्रतियोगिता दाङको घोराहीमा आयोजना गरिएको थियो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले शुभकामना मन्तब्य राखेका थिए ।




