रुपन्देहीमा नक्कली नोट कारोबारः चार जना पक्राउ, अनुसन्धान तीव्र

रुपन्देहीका विभिन्न स्थानमा नक्कली नेपाली नोटको अवैध कारोबार भइरहेको सूचनापछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका इकाइबाट खटिएको संयुक्त टोलीले निगरानी र गोप्य सूचनाका आधारमा सिद्धार्थनगर नगरपालिका–५ भैरहवा र सैनामैना नगरपालिका–१० झच्चैयाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगंगाका ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुलीका २८ वर्षीय सुजन खनाल (मुक्ति प्रसाद), सिन्धुपाल्चोक चौताराका ३५ वर्षीय रोलबहादुर श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठका ५३ वर्षीय दिपेन्द्र थापा रहेका छन्। उनीहरूको साथबाट प्रहरीले एक हजार दरका २१ थान नक्कली नेपाली नोट बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार चैत २२ र २६ गते सञ्चालन गरिएको विशेष खोजतलास अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्। पछिल्लो समय सीमावर्ती क्षेत्र हुँदै नक्कली नोटको कारोबार बढ्न सक्ने आशंकालाई ध्यानमा राख्दै प्रहरीले निगरानी कडा बनाएको थियो। सोही क्रममा शंकास्पद गतिविधिमा संलग्न देखिएका व्यक्तिहरूमाथि निगरानी बढाउँदै जाँदा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान जारी रहेको छ। उनीहरूले नक्कली नोट कहाँबाट ल्याएका हुन् र कसरी बजारमा फैलाउने योजना थियो भन्नेबारे अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सर्वसाधारणलाई पनि सतर्क रहन आग्रह गर्दै नक्कली नोटको पहिचान गर्न ध्यान दिन सुझाव दिएको छ। साथै, शंकास्पद गतिविधि वा व्यक्तिहरू देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन अपिल गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5