‘स्वाद उत्सव’सहित १०औं वार्षिकोत्सव मनाउँदै होटल पौवा

नेपाली आतिथ्य क्षेत्रमा स्थापित होटल पौवाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा देशभरका शाखामा ‘स्वाद उत्सव’ आयोजना गर्ने घोषणा गरेको छ। भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले उक्त कार्यक्रमसँगै लगानीकर्ता सम्मेलन पनि गर्ने जानकारी दिएको हो।

कम्पनीका अनुसार चैत २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने ‘स्वाद उत्सव’मा नेपाली मौलिक परिकार तथा स्थानीय स्वादलाई प्राथमिकता दिइनेछ। होटलका सबै शाखामा विशेष आतिथ्य सत्कारसहित ग्राहकलाई नेपाली खानाको अनुभव गराउने योजना रहेको बताइएको छ।

वार्षिकोत्सवकै अवसरमा चैत २८ गते भैरहवामा ‘बितायौं बालापन’ अवधारणामा लगानी सम्मेलनसमेत आयोजना गरिने भएको छ । सम्मेलनमार्फत कम्पनीले भावी रणनीति तथा “मिसन १००” लक्ष्य हासिल गर्ने योजनाबारे छलफल गर्ने जनाएको छ ।

होटल पौवाले नेपाली स्वाद, आतिथ्य र संस्कृतिलाई देश तथा विदेशमा ब्रान्ड गर्ने लक्ष्यका साथ सेवा विस्तार गर्दै आएको छ। सन् २०१५ (वि.सं. २०७२) मा सेवा सुरु गरेको कम्पनीले १० वर्षको अवधिमा देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।

हाल होटल पौवाका देशभर करिब २० वटा शाखा सञ्चालनमा छन्। “जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ” भन्ने नारासहित अघि बढिरहेको कम्पनीले नेपाली भाषा, संस्कृति र खानाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले लगानीकर्ता तथा सहकार्यकर्तासँग भविष्यका योजना र विस्तार रणनीतिबारे छलफल गर्न भैरहवामा विशेष सम्मेलन आयोजना गर्ने जनाएको छ। उक्त सम्मेलनमा देशभरबाट २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

त्यसैगरी, नयाँ वर्ष २०८३ को स्वागतका लागि पनि होटल पौवाले ‘शुभकामना साँझ–२०८३’ नामक विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने बताइएको छ।

होटल पौवाले विभिन्न चाडपर्व तथा अवसरमा नेपाली परम्परा झल्काउने कार्यक्रमहरू गर्दै आएको छ। कम्पनीका अनुसार तिहार, माघे संक्रान्ति, महाशिवरात्रि लगायतका पर्वमा विशेष कार्यक्रममार्फत ग्राहकलाई नेपाली संस्कृति अनुभव गराउने प्रयास निरन्तर जारी रहनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5