
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिब ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।
प्रहरीका अनुसार चैत १ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरेर अवैध रूपमा चोरी पैठारी गरिएका अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरका सामान नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बरामद गरिएको सामानमा पिकअपसहित केरा, मोटरसाइकलसहित किराना सामान, ब्रोइलर कुखुरा, सुर्ती, जोली रोल्स चकलेट, हरिया सिम्लामिर्च, झोला, ड्रागन धूप, विभिन्न किचन सामग्री, पटका, फलफूल तथा विभिन्न प्रजातिका फूलका बिरुवालगायत रहेका छन्।
प्रहरीले बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जबाट बा १३ च ८३५५ नम्बरको बोलेरो पिकअपसहित करिब २५०० केजी केरा (अन्दाजी मूल्य ८ लाख रुपैयाँ) बरामद गरेको छ। यस्तै रोहिणी गाउँपालिका–२ मैनिहवाबाट लु २६ प ३७८९ नम्बरको मोटरसाइकलसहित विभिन्न किराना सामान (६८ हजार ७०० रुपैयाँ) बरामद गरिएको छ।
त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारबाट यूपी ५५ एफ ०२०८ नम्बरको मोटरसाइकलसहित १३८ केजी ब्रोइलर कुखुरा (६४ हजार ५०० रुपैयाँ) बरामद गरिएको प्रहरीले जनाएको छ। सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीबाट ७०० केजी केरा (७४ हजार रुपैयाँ) र पिप्रया गाउँबाट १६ वटा ब्रोइलर कुखुरा (१६ हजार रुपैयाँ) बरामद गरिएको छ।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ तेलारपुलबाट १५ केजी सुर्ती (७ हजार २०० रुपैयाँ) बरामद गरिएको छ भने सिद्धार्थनगर–१ बाइपासबाट ६० केजी केरा, ४० केजी हरियो सिम्लामिर्च, ड्रागन धूप, जुस र जोली रोल्स चकलेटसहित २० हजार २४० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ।
त्यस्तै मायादेवी गाउँपालिका–६ बेथरीचोकबाट १२ हजार ८० रुपैयाँ बराबरका विभिन्न किचन सामग्री, सिद्धार्थनगर–१२ देवकोटा चोकबाट ३० हजार रुपैयाँ बराबरका ७ प्याकेट विभिन्न प्रकारका पटका तथा सिद्धार्थनगर–१ डण्डापुलबाट ६० हजार रुपैयाँ बराबरका फलफूल र २५० वटा विभिन्न प्रजातिका फूलका बिरुवा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।




