
भैरहवा मा स्याङ्गजाली परिवार रुपन्देहीले नववर्ष २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ। शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त पात्रो विधिवत् रूपमा विमोचन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि तथा संस्थापक डि.आर. शर्मा घिमिरेले संस्थाले हालसम्म सञ्चालन गरेका गतिविधिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा नयाँ पुस्ता, विशेषगरी जेन–जी लाई जिम्मेवारी हस्तान्तरण गर्दै थप प्रभावकारी र समाजमुखी काममा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए। उनले बदलिँदो समयसँगै संस्थाले आफ्नो भूमिका अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णु मरासिनीले स्याङ्गजाली परिवारलाई अझ संगठित, सक्रिय र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए। उनले सामाजिक एकता, सहयोग र पहिचान जोगाउँदै आगामी दिनमा थप रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
टिकिसरा बस्यालको अध्यक्षता तथा विश्वबन्धु न्यौपानेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका शाखा अध्यक्ष अर्जुन भण्डारी, गल्याङ्ग रुपन्देही समाजका अध्यक्ष सुनिल खड्का, भैरहवा क्षेत्रका उपाध्यक्ष बाबुराम पौडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा जिल्लाभर रहेका स्याङ्गजाली परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै सामाजिक एकता र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए। साथै, आगामी दिनमा संस्थालाई अझ प्रभावकारी र जनमुखी बनाउँदै लैजान सबै सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।
भित्तेपात्रो विमोचनसँगै संस्थाले नयाँ वर्षलाई सकारात्मक सोच, योजना र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूसहित स्वागत गरेको जनाएको छ।




