पंकज उदासको नेतृत्वमा नयाँ कार्यसमिति

लुम्बिनी मनी चेन्जर व्यवसायी संघको १०औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ। कार्यक्रमले मनी चेन्जर व्यवसायसँग सम्बन्धित पछिल्ला नीतिगत चुनौती, अन्तर्राष्ट्रिय दायित्व र व्यवसायीहरूको भूमिकाबारे गम्भीर छलफल गर्दै नयाँ नेतृत्व चयन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका कायममुकाम निर्देशक जीवन पाण्डेले नेपाल हाल अन्तर्राष्ट्रिय निगरानी सूची (ग्रे लिस्ट) मा रहेकाले सम्पत्ति शुद्धीकरण (एण्टी मनी लाउन्ड्रिङ) सम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्न व्यवसायीहरूलाई आग्रह गरे। उनले मनी चेन्जर मात्र नभई सुनचाँदी, सहकारी, वित्तीय संस्था लगायत सबै क्षेत्रमा यस्तो नियम अनिवार्य रूपमा लागू गरिएको उल्लेख गर्दै राज्यले यसको कार्यान्वयनमा थप कडाइ गरिरहेको बताए।

पाण्डेले सेवा शुल्कमा एकरूपता कायम नहुँदा पर्यटकहरूमा नकारात्मक सन्देश जाने जोखिम रहेकोतर्फ पनि ध्यानाकर्षण गराउँदै नयाँ नेतृत्वले यस विषयलाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गरे। उनले पारदर्शिता, विश्वसनीयता र कानुनी पालना नै अहिलेको प्रमुख आवश्यकता भएको बताए।

संघका निवर्तमान अध्यक्ष ऋषिराम पाण्डेले बदलिँदो नीतिगत व्यवस्था र कडा प्रावधानका कारण मनी चेन्जर व्यवसाय दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको बताए। उनले राष्ट्र बैंकबाट लागू गरिएका ‘गो–एएमएल’ लगायतका नयाँ नीतिगत व्यवस्थाले व्यवसाय सञ्चालनमा थप जटिलता सिर्जना गरेको उल्लेख गर्दै व्यवसायमै टिक्न समेत कठिनाइ भइरहेको गुनासो गरे।

अधिवेशनबाट पंकज उदासको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। उपाध्यक्षमा नवराज जोशी र वासुदेव खनाल, सचिवमा इरफान वारिस, सह–सचिवमा राजीव उदास तथा कोषाध्यक्षमा लोकनाथ ज्ञवाली निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा टीका देवी न्योपाने, बसन्त पोखरेल, अवध किशोर अग्रवाल, आफताब अंसारी, यदुनाथ लम्साल, अशोक क्षेत्री र आमना शाह चयन भएका छन्। विष्णु प्रसाद शर्मा, गोपाल भण्डारी र नरहरी घिमिरेलाई सल्लाहकारमा मनोनित गरिएको छ। कार्यक्रमको संयोजन नवराज घिमिरेले गरेका थिए।

कार्यक्रममा सहभागीहरूले वर्तमान आर्थिक तथा नियामक वातावरणमा व्यवसाय सञ्चालनलाई सहज बनाउन सरकार र सम्बन्धित निकायसँग समन्वय बढाउनुपर्नेमा जोड दिएका थिए। साथै, आगामी दिनमा संस्थागत सुदृढीकरण, सेवा गुणस्तर सुधार र पर्यटनमैत्री वातावरण निर्माणमा संघले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5