समृद्ध रोहिणीका लागि शिक्षा, स्वास्थ्य र सार्वजनिक सम्पत्ति संरक्षणमा जोड

रुपन्देहीको रोहिणी गाउँपालिकालाई समृद्ध बनाउन भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सञ्चार र सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

मंगलबार धकधईमा सम्पन्न एक कार्यक्रममा बोल्दै सहभागीहरूले गाउँपालिकाले सडक, नाला, भवन जस्ता पूर्वाधार निर्माणमा उल्लेखनीय काम गरे पनि अब शिक्षा र स्वास्थ्य क्षेत्रमा अझ बढी ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनीहरूले दीर्घकालीन विकासका लागि सञ्चार क्षेत्रलाई सुदृढ बनाउन अक्षयकोष स्थापना गर्नुपर्ने धारणा पनि राखे।

कार्यक्रममा बोल्ने वक्ताहरूले समृद्ध रोहिणी निर्माणका लागि गाउँबासीबीच एकता अपरिहार्य रहेको बताए। उनीहरूले सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने र कृषि उत्पादन वृद्धि गर्न सिंचाइका योजनाहरू प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

सहभागी पशुपति, सतिषचन्द्र लगायतले स्थानीय स्तरमा भएका विकास निर्माणका कामको प्रशंसा गर्दै शिक्षा र स्वास्थ्यमा लगानी बढाउन सुझाव दिएका थिए। त्यसैगरी जयप्रकाश र एक महिला सहभागीले स्थानीय स्रोतसाधनको सदुपयोग र समुदायबीच सहकार्यको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा उठेका प्रश्न, जिज्ञासा र सुझावहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले आफू पदमा आएपछि विभिन्न क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गरे। उनले पूर्वाधार विकास, सामाजिक सेवा विस्तार र जनताको जीवनस्तर उकास्न गरिएको प्रयासहरू प्रस्तुत गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका सञ्चालक अग्रज पत्रकार विजय पाण्डेले समृद्धि हासिल गर्न स्थानीय सरकार र स्थानीय बासिन्दाबीच सहकार्य, एकता र पारदर्शिता अत्यन्त आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा बोल्ने अधिकांश स्थानियहरुलेपनि यही धारणा दोहोर्‍याउँदै विकासलाई दिगो र प्रभावकारी बनाउन सामूहिक प्रयास अपरिहार्य रहेको बताएका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, बुद्धिजीवी, कृषक, महिला तथा युवा वर्गको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5