रुपन्देहीमा लागूऔषध कारोबारीमाथि प्रहरीको गोली, तीन जना पक्राउ

रुपन्देही जिल्लामा लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा प्रहरीले गोली प्रहार गरी तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका बिशाल यादव, भारत महाराजगंज पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेय रहेका छन्।

लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले रोहिणी गाउँपालिका–४ कोटहवा क्षेत्रमा सर्च अभियान सञ्चालन गरेको थियो। सोही क्रममा कोटहवाबाट छिपागढतर्फ जाँदै गरेको यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोकेर चेकजाँच गर्न खोजिएको थियो।

प्रहरीका अनुसार चेकजाँचको क्रममा उनीहरू भाग्न खोज्दा मोटरसाइकल अनियन्त्रित भई लडेका थिए। त्यसपछि नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए, जसका कारण एक प्रहरी घाइते भएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गर्नुका साथै दुई राउण्ड गोली प्रहार गरेको जनाएको छ।

गोली प्रहारबाट बिशाल यादवको बाँया खुट्टाको पिडुलामा चोट लागेको छ। उनलाई तत्काल भीम अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ र अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीले पक्राउ परेकाहरूले प्रयोग गरेको मोटरसाइकल चेकजाँच गर्दा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको जनाएको छ। बरामद लागूऔषधमा फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5