
७० वर्ष पुरानो सिद्धार्थ उद्योग बाणिज्य संघमा महिला उद्यमी व्यवसायीहरु नेतृत्वमा आउने दौँडमा छन् । त्यस संस्थामा यस पटक २ पदाधिकारी सहित ६ जना कार्यसमितीमा आउने गरी चुनाबी मैदानमा छन् । अहिले सम्म १ जना सदस्य सर्वसम्मत चयन भएकी छन् । महिलाहरु यसरी नेतृत्वमा आउन खोज्नुले चेतना, परिर्वतन र महिला सशक्तिकरणको सन्देश फैलाएको छ ।


११५ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईरहँदा सिद्धार्थ उद्योग वाणिज्य संघमा नेतृत्वमा आउनकै लागि महिलाहरुले दिएको उम्मेद्धारीले अब आउने निर्वाचनहरुमा समानता र समावेशीताका मुद्धालाई थप सशक्त बनाउन बल पुग्ने देखिन्छ ।
रुपन्देही जिल्लाको सिद्धार्थ उद्योग वाणिज्य संघ यस क्षेत्रको सबै भन्दा पुरानो संस्था हो । २०११ सालमा स्थापना भएको उक्त संस्थाको ईतिहास लामो छ । फागुन २४ गते यही संघको नयाँ नेतृत्व चयन गर्नको लागि निर्वाचन हुदैछ । तर सुन्दा अचम्म लाग्ला यतीका लामो ईतिहास बोकेको संस्थाको नेतृत्वमा आज सम्म पनि एक जना महिलाले उम्मेद्धारी दिएका थिएनन् ।
नेपालमा हुने प्रत्येक निर्वाचनमा हाल समानुपातिक प्रणाली अबलम्बन गरीरहेको अवस्था छ । २०११ सालमा स्व मंगलशेन शर्मादेखि हाल २०८१ मा ठाकुर कुमार श्रेष्ठले नेतृत्व गरीसक्दा समेत संघको पदाधिकारीमा महिलाहरु बिरलै समेटिने गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राम कुमार शर्माका अनुसार २०६२ सालमा कृष्ण प्रसाद शर्माको नेतृत्वमा कार्यसमिती थियो । उक्त समितीमा महिलाहरु एक जना पनि थिएनन । शर्माकै पालामा शान्ता जिसीलाई कार्यसमितीमा मनोनियत गरीएको थियो । त्यसपछि क्रमश यमकला न्यौपाने र पल्लबी न्यौपाने कार्यसमितीमा आए ।
विगतमा सिद्धार्थ उद्योग बाणिज्य संघमा महिला सदस्यहरु मतादाता मात्रै थिए । यतिबेला नेता पनि बन्ने क्रममा छन् । ०६२ यता महिलालाई सदस्यमा मात्रै राख्ने प्रचलन बढ्यो । तर यसपटक भने बाणिज्य उपाध्यक्ष र सहकोषाध्यक्षमा उम्मेदवारी दिएर महिलाहरुले हिम्मत देखाएका छन् । बाणिज्य उपाध्यक्षमा यमकला न्यौपाने र सहकोषाध्यक्षमा पल्लवी न्यौपानेले उम्मेदवारी दिएका छन् ।
अचम्म त के छ भने पदाधिकारीहरु जहाँ महिलाले उम्मेदवारी दिएनन त्यहाँ नेतृत्वले सर्वसम्मत गरायो । निर्विरोध चयन गरायो । तर जुन पदमा महिलाले उम्मेदवारी दिए त्यहि चुनाबी प्रतिसपर्धा हुदैँछ । तर पनि महिला उम्मेदवार पुरुष भन्दा कम नभई चुनाबी मैदानमा उत्रिएका छन् । उनीहरुले निर्वाचन हार्लान वा जित्लान त्यो निर्वाचन परिणामले देखाउनेछ तर उनीहरुको हिम्मत भने अनुकरणीय रहेकोछ ।
कुन पदमा कसको उम्मेदवारी

पर्दा पछाडी रहेर काम गर्ने उद्योगी व्यवसायी महिलाहरु यस पटक भने अग्रभागमा आउन खोजेका छन् । सधै सदस्य भएर तालि पिट्ने भन्दा प्रस्तावहरु र योजना तर्जुमा गर्ने तहमा जान चाहेका छन् । यसैकोलागि यमकला न्यौपाने उपाध्यक्ष र पल्लवी न्यौपाने सह कोषाध्यक्षमा भिड्दै छन्।

यसैगरी कार्यसमिती सदस्यहरुमा उद्योग तर्फ श्रीजना कार्की जोशी र वाणिज्य तर्फको सदस्यमा सुनयना केसी गिरी, मिना पन्थी, रचना कार्की, पुजा आचार्य रहेका छन् ।

संघको पहिलो सदस्य शान्ता जिसी थिईन् । उनको निधन भईसकेको छ । शान्ताको पद्चाप पच्छाउदै यमकला र पल्लवी न्यौपाने संघमा प्रवेश गरेका थिए । यतिबेला यमकला, पल्लवीसँगै धेरै महिलाहरु संघको नेतृत्वकोलागि चुनाबी दौडमा छन् ।
हलको अधिवेसनमा उम्मेदवारी दिएका महिला उम्मेदवारहरु मध्ये यमकला न्यौपाने अत्यन्तै सरल र शालीन महिला नेतृ हुन् । विपश्यी भावनाकी उनले २०४५ सालामा किराना तथा खुद्रा व्यापार सुरु गरेकी थिइन् । अहिले पनि व्यवसाय गरी रहेकी छन् ।
त्यसबेला व्यवसायी महिलाहरूको सङ्ख्या अत्यन्तै न्यून थियो । उनी भन्छिन्, “महिलाहरूले त्यो समयमा व्यवसाय गर्नु भन्ने कुरा अत्यन्तै न्यून रहेको थियो । तर, त्यतीबेला श्रीमानको साथले गर्दा नै हामी सफल भएका हौ । ”

यसैगरी सदस्य पदमा पटक पटक अनुभव संगालेकि पल्लवी सहकोषाध्यक्ष पदमा निर्वाचन लड्दैछिन् । संघको पदाधिकारी मध्ये सबैभन्दा कनिष्ठ पदाधिकारी सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी उनको सौन्दर्यकला सम्बन्धी उद्यम रहेको छ । सदस्य पछिको स्वतः जाने पद सहकोषाध्यक्ष रहेकोले उम्मेदवारी दिएको उनले बताईन्
।
विगतको ईतिहाँसले संघको सदस्य हुनु वा उम्मेदवारी दिनु पनि एउटा राजनैतिक प्लेटफर्म सृजना गर्नु भएको देखिन्छ । २०७९ को निर्वाचनमा कार्यसमिती सदस्य पदका उम्मेद्धार हेमा बेल्बासे के सी अहिले लुम्बिनी प्रदेश सभा सदस्य छिन् । त्यतिबेला उनी संघको सदस्यमा पराजित भईन तर निर्वाचनको उपयोग कसरी गर्ने भन्ने सिकीन् । वर्तमान प्रदेश सांसद बेल्बासेले भन्छिन, “महिलाहरु वर्तमान समयमा आर्थिक रुपमा सशक्त हुनुपर्छ, नेतृत्व विकासका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ राम्रो प्लेटफर्म पनि हो ।”

सांसद बेलबासेले झै सिद्धार्थनगर पालिकाका उपप्रमुख उमा अधिकारीले आस्था, बिचार र सिद्धान्त जसको जे भएता पनि समाज रुपान्तरणकोलागि महिलाहरुलाई सहयोग गर्नुपर्ने बताउछिन् । उनी भन्छिन, ‘ महिलाहरुलाई अहिले पनि नेतृत्वमा आउन चुनौति रहेको छ । तर पनि उद्योगि व्यवसायी महिलाहरु चुनाबी प्रतिसपर्धाको साथ नेतृत्वमा आउन खोजिरहेका छन । यो खुसीको कुरा हो । ’

संयोगबशः आज फागुन २४ गते नै ‘सबै महिला तथा बालिकाको लागिः अधिकार,समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ विश्वभरी ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहेको छ । यसैदिन जबरजस्त रुपमा उद्योगी व्यवसायीको नेता बन्ने उत्कट आकांक्षा राखि महिला उद्यमी व्यवसायीहरु सिद्धार्थ उद्योग बाणिज्य संघको विभिन्न पदमा उम्मेदवार दिई चुनाबी मैदानमा उत्रिएका छन् । उनीहरुलाई एक्काईस सय भन्दा बढी मतादाताले विश्वास गर्छन की गर्दैनन त्यो आज राति अबेर सम्म मतपरिणाम गणना पछि थाहाँ हुनेछ । तर पनि उनीहरुले गरेको हिम्मत अर्थपुर्ण रहेको छ ।
नारी दिवसको दिन आज प्रभातफेरि, अन्तरक्रिया, कार्यक्रम र गोष्ठीहरु पनि भईरहेका छन् । हामीले जहाँ छौ त्यहिबाट आफुलाई परिवर्तन गरेर नारिप्रति करुणा, दयाभाव होइन कि विश्वास गर्न सिकौ । तब मात्र १९०८ मा अमेरिकाको न्यूयोर्क सहरबाट क्लरा जेटकिनले विजारोपण गरेको आन्दोलनको उपलब्धी हासिल हुनेछ ।
तस्वीरहरुः प्रकाश पान्डे, पुनहरी बेलबासे र महेश गुप्ता




