
रूपन्देहीको सिद्धार्थनगरस्थित मुनलाइट माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ। विद्यालयले शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूलाई खादा र मालासहित सम्मान गरेको हो।
शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि परिचित मुनलाइट विद्यालयले “आइएसओ सर्टिफाइड” मान्यता प्राप्त संस्थाका रूपमा आफूलाई स्थापित गर्दै आएको जनाएको छ। विद्यालयले शैक्षिक उत्कृष्टतासँगै अनुशासन, नैतिक शिक्षा तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको बताइएको छ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम भट्टराईले यस वर्षको उत्कृष्ट नतिजा विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको निरन्तर सहयोगको संयुक्त परिणाम भएको बताए। उनले विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने लक्ष्य लिएको उल्लेख गरे।
त्यस्तै, ३.९६ जिपिए प्राप्त गरेका विद्यार्थी बुद्ध पाण्डेले आफ्नो सफलतामा अभिभावकको प्रेरणा र शिक्षकहरूको मार्गदर्शन महत्वपूर्ण रहेको बताए। उनले नियमित अध्ययन, अनुशासन र विद्यालयको शैक्षिक वातावरणले आफूलाई सफलता हासिल गर्न सहयोग पुगेको अनुभव सुनाए।
विद्यालयका अनुसार एसइई २०८२ मा उत्तीर्ण भएका ७९ विद्यार्थीमध्ये १४ जनाले ए+ ग्रेड हासिल गरेका छन्। तीमध्ये २ जना विद्यार्थीले ३.९६ जिपिए ल्याउन सफल भएका हुन्। त्यसैगरी ३१ जनाले ए, २७ जनाले बि+ र ७ जनाले बि ग्रेड प्राप्त गरेका छन्।
सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले विद्यालयले हासिल गरेको नतिजाले समग्र क्षेत्रकै शैक्षिक वातावरणमा सकारात्मक प्रभाव परेको बताएका थिए।
विद्यालय प्रशासनले आगामी वर्षहरूमा पनि विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माण गर्दै शैक्षिक गुणस्तरलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

















