
रूपन्देहीको सिद्धार्थनगर–१२ भैरहवास्थित काशी नोबल एकेडेमीले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा कोरियन भाषा विषयको पठनपाठन सुरु गर्ने भएको छ। विद्यालयले शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कक्षा ११ र १२ मा कोरियन भाषालाई ऐच्छिक विषयका रूपमा समावेश गर्ने जानकारी दिएको हो।
विद्यालयका अनुसार विद्यार्थीलाई अन्तर्राष्ट्रिय भाषा, प्रविधि र रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले कोरियन भाषा अध्यापन सुरु गर्न लागिएको हो। विद्यालयले यस कार्यक्रममार्फत विद्यार्थीलाई दक्षिण कोरियाको शिक्षा प्रणाली, प्रविधि तथा सीपमूलक अध्ययनतर्फ आकर्षित गर्ने लक्ष्य लिएको जनाएको छ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य राजेन्द्र प्रसाद घिमिरेले कक्षा ११ स्तरमै कोरियन भाषा अध्यापन गराउने काशी नोबल एकेडेमी सम्भवत: पहिलो विद्यालय बन्ने बताए। उनले विश्व परिवेशमा भाषाको ज्ञान अत्यन्त आवश्यक बन्दै गएको उल्लेख गर्दै कोरियन भाषा अध्ययनले नेपाली विद्यार्थीलाई नयाँ अवसरतर्फ अघि बढाउने विश्वास व्यक्त गरे।
उनले दक्षिण कोरियाले छोटो समयमै हासिल गरेको प्राविधिक तथा आर्थिक प्रगतिबाट नेपाली विद्यार्थीले सिक्न सक्ने उल्लेख गरे। “हाम्रो उद्देश्य केवल भाषा सिकाउनु मात्र होइन, विद्यार्थीलाई प्रविधि, अनुसन्धान र दक्षतासँग जोड्नु पनि हो,” उनले भने।
विद्यालयका सह–प्राचार्य श्री रायमाझीले दक्षिण कोरियामा दक्ष जनशक्तिको माग उच्च रहेको र त्यहाँ विदेशी विद्यार्थीका लागि विभिन्न छात्रवृत्ति तथा अध्ययन अवसर उपलब्ध रहेको बताए। उनले भाषा सिकेपछि विद्यार्थीलाई अध्ययन र रोजगारीका अवसरमा सहजता हुने उल्लेख गरे।
उनका अनुसार युरोप तथा अमेरिकामा अध्ययनका लागि जाने धेरै विद्यार्थी स्थायी बसोबासतर्फ आकर्षित हुने गरे पनि दक्षिण कोरियाको अध्ययन प्रणालीले विद्यार्थीलाई निश्चित समयपछि स्वदेश फर्कन प्रेरित गर्छ। त्यसबाट विद्यार्थीले हासिल गरेको सीप, अनुभव र प्रविधि नेपालकै विकासमा उपयोग हुन सक्ने उनको भनाइ थियो।
विद्यालयले कोरियन भाषा अध्यापन सम्बन्धी जानकारी राष्ट्रिय परीक्षा बोर्ड तथा सिद्धार्थनगर नगरपालिकालाई गराइसकेको जनाएको छ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष टोपबहादुर रायमाझीले काशी नोबल एकेडेमीले सुरुदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताए। विद्यालयमा हाल १ हजार ६ सय १५ विद्यार्थी अध्ययनरत रहेका छन् भने ११२ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको जानकारी दिइएको छ।

















