
भैरहवामा एकीकृत मोरिङ्गा प्रशोधन केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ। सिद्धार्थनगर नगरपालिका–५ मा स्थापना गरिएको केन्द्रको उद्घाटन नगर प्रमुख ईश्तियाक अहमद खानले गरेका हुन्। मानव स्वास्थ्यका लागि अत्यन्त लाभदायी मानिने मोरिङ्गाको व्यवसायिक उत्पादन र प्रशोधन सुरु भएसँगै स्थानीय कृषि तथा स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावना देखिएको छ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपािलकाका मेयर खानले नेपालका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा मोरिङ्गा खेती विस्तार भइरहेको उल्लेख गर्दै यसको बजार प्रवर्द्धनमा स्थानीय तहले पनि सहकार्य गर्ने बताए। उनले पोषणयुक्त खाद्यका रूपमा परिचित मोरिङ्गा स्वास्थ्यका लागि मात्र नभई किसानको आयआर्जनको महत्वपूर्ण माध्यम बन्न सक्ने धारणा राखे।

स्वास्थ्यप्रति सचेत नागरिक बढ्दै गएकाले मोरिङ्गाको प्रयोग र उपभोग पनि विस्तार हुँदै गएको छ, उनले भने, यसको उत्पादन र बजारीकरणले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउँछ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठले मोरिङ्गा उत्पादनको बजार विस्तारका लागि वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराइने बताए।
एकीकृत मोरिङ्गा प्रशोधन केन्द्रका सञ्चालक सलुजा रामदामले मोरिङ्गाको व्यावसायिक खेतीसँगै त्यसबाट विभिन्न उत्पादन तयार गरी बजारमा ल्याउन सुरु गरिएको जानकारी दिए। उनका अनुसार केन्द्रबाट हाल मोरिङ्गा पाउडर, मोरिङ्गा चिया, ग्रिन टी, पौष्टिक लड्डु तथा सुत्केरी मसला उत्पादन भइरहेको छ।
प्राकृतिक चिकित्सक डा. हुमबहादुर बोहराले मोरिङ्गामा भिटामिन ए, सी, आइरन, क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले यसलाई ‘सुपरफुड’का रूपमा लिइने बताए। उनले विशेषगरी बालबालिका, गर्भवती महिला तथा वृद्धवृद्धाका लागि मोरिङ्गा उपयोगी हुने उल्लेख गरे।
उनका अनुसार मोरिङ्गाबाट पाउडर, चिया, तेल, क्याप्सुललगायत विभिन्न उत्पादन तयार गरी नेपाली बजारमा व्यावसायिक सम्भावना विस्तार गर्न सकिन्छ।
मोरिङ्गा नेपाल, भारत लगायतका देशमा पाइने बहुउपयोगी वनस्पति हो। यसलाई विभिन्न स्थानमा ड्रमस्टिक ट्री, हर्सरेडिस ट्री तथा बेन आयल ट्रीका नामले पनि चिनिन्छ। नेपालमा भने यसलाई सित्तलचिनी र सोभान्जन नामले चिनिने गरिन्छ।
विशेषज्ञहरूका अनुसार मोरिङ्गाको पात, फल तथा बीउमा प्रशस्त पोषक तत्व पाइन्छ। यसमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्स भरपूर हुने भएकाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने बताइन्छ।
अध्ययनहरूले मोरिङ्गाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, कोलेस्टेरोल कम गर्न, शरीरको सुन्निने समस्या घटाउन तथा पोषण अभाव न्यूनीकरणमा सहयोग पुर्याउने देखाएका छन्। पछिल्ला वर्षहरूमा स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै नेपालमा पनि मोरिङ्गाको सेवन र व्यवसायिक खेतीप्रति आकर्षण बढ्दै गएको छ।


















