
भैरहवा । युनिभर्सल पब्लिक हाई स्कुलले विद्यार्थीहरूको लागी उद्घोषण तालिम सम्पन्न गरेको छ । आइतबार स्कुलले कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको लागी उद्घोषण तालिम सम्पन्न गरेको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिको लागी विद्यालयले तालिम गर्नु एकदमै सकारात्मक कार्य भएको बताए । रायमाझीले अध्ययनका साथै साथै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा अगाडि बढाउन एकदमै जरुरी भएको बताए ।

विद्यालयका प्रधानाध्यापक गोकुल पोखरेलले विद्यार्थीहरूलाई सिप सँग जोड्नको लागी उद्घोषण तालिमको आयोजना गरिएको बताए । पोखरेलले आफ्नो विद्यालयको सबैभन्दा सबल पक्ष भनेकै विद्यार्थीहरूको अनुशासन भएको जानकारी दिए । पोखरेलले भने “ हाम्रो विद्यालयको सबैभन्दा सबल पक्ष भनेकै अनुशासन हो, कक्षा १० उत्तीर्ण गरेर हाम्रा विद्यार्थीहरू जहाँ पढ्न पुगेका छन् उक्त विद्यालय बाट युनिभर्सल बाट आएका विद्यार्थीहरू धेरै अनुशासित भएको कुराहरू हामीले सुन्ने गरेका छौँ “
विद्यालयका उप प्रधानाध्यापक सुरज घिमिरेको संयोजनमा भएको तालिममा आइतबार पत्रकार एलिना आचार्यले विद्यार्थीहरूलाई प्रशिक्षण दिएकी थिइन् । शुक्रवार र आइतबार दुई दिन सम्म चलेको तालिममा २४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

















