
पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजनका खेलहरू शुक्रबारदेखि भैरहवामा सुरु हुने भएका छन्। रुपन्देहीका १२ वटा टोलीको सहभागिता रहने प्रतियोगिता जेठ ९ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक रुपन्देही क्रिकेट संघ ले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै प्रतियोगिताको शीर्ष प्रायोजन पंचकन्या समूह ले गर्ने जनाएको छ। यसका लागि समूहका महाप्रबन्धक देवेन्द्र साहु र संघका अध्यक्ष हरिबहादुर थापाबीच सम्झौता भएको छ।

प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विजेताले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीहरूलाई पनि विभिन्न विधामा नगद पुरस्कार प्रदान गरिनेछ।
यसअघि ‘बी’ डिभिजनका खेलहरू सम्पन्न भइसकेका छन् भने बुद्ध र देवदह क्लब ‘ए’ डिभिजनमा उक्लिएका छन्। आयोजकका अनुसार रुपन्देहीमा क्रिकेटको बढ्दो लोकप्रियतासँगै यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

















