
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ओमसतिया गाउँपालिका अन्तर्गत बुटवल–भैरहवा सडक खण्डको पडसरी चोकमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
सोमबार ‘दुर्घटना न्यूनीकरण एवं ट्राफिक सचेतना सम्बन्धी– ट्राफिकसँग ३ मिनेट’ कार्यक्रममार्फत दुई पांग्रे सवारी चालक, सार्वजनिक सवारीका चालक तथा सहचालकहरुलाई ट्राफिक नियमबारे जानकारी दिइएको हो।

कार्यक्रममा ट्राफिक प्रहरीले लेन अनुशासनको पालना, तीव्र गति नियन्त्रण, हेल्मेट तथा सिटबेल्टको अनिवार्यता, सुरक्षित ओभरटेक, मादक पदार्थ सेवन गरेर सवारी नचलाउनुपर्ने लगायतका विषयमा सचेत गराएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले छोटो समयमा प्रभावकारी सन्देश दिने उद्देश्यले ‘ट्राफिकसँग ३ मिनेट’ कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले सानो लापरबाहीले पनि ठूला दुर्घटना निम्त्याउने भएकाले सबै चालकलाई नियम पालना गर्न आग्रह गरिन्।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना पनि बढ्दै गएकाले यस्ता सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो।
स्थानीय बासिन्दा तथा सवारी चालकहरुले पनि यस्ता कार्यक्रमले ट्राफिक नियमप्रति सचेतना बढाउन सहयोग पुग्ने बताएका छन्। प्रहरीले सडक प्रयोगकर्तालाई जिम्मेवार र सचेत भएर सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

















