लुम्बिनीमा विवादपछि एक युवक गम्भीर घाइते, उपचार जारी

लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मा सामान्य विवादले उग्र रूप लिँदा एक युवकमाथि सामूहिक कुटपिट भएको घटना सार्वजनिक भएको छ। स्थानीय २५ वर्षीय सराउदिन खानमाथि केही युवाहरूले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन्। हाल उनको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको छ।

स्थानीयका अनुसार खेतमा हिँडेको विषयलाई लिएर सुरु भएको विवाद पछि हिंसात्मक झडपमा परिणत भएको हो। फैज अहमद खानका अनुसार चैत ३ गते हबीबुर रहमान नामक व्यक्ति स्थानीय रविन्द्र तिवारीको खेतमा हिँडेपछि विवाद सुरु भएको थियो। सोही विषयलाई लिएर तिवारी परिवारका सदस्यहरू—रविन्द्र तिवारी, नितेश तिवारी, प्रेम तिवारी, दिपक तिवारी, राजेश ताडिवान लगायत तथा केही भारतीय नागरिकसमेत मिलेर सराउदिन खानमाथि आक्रमण गरेको आरोप लगाइएको छ।

पीडित पक्षका अनुसार सम्भावित कुटपिटको आशंकामा घटना हुनु अघि नै इलाका प्रहरी कार्यालय लुम्बिनीमा निवेदन दिइएको थियो। तर, प्रहरीसँग छलफलका लागि बोलाइएको क्रममा बाटोमै विपक्षी समूहले आक्रमण गरेको उनीहरूको दाबी छ।

कुटपिटपछि खानलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो। उनी १९ दिनदेखि उपचाररत छन्। अस्पताल स्रोतका अनुसार उनको हात भाँचिएको छ भने छुरी तथा खुकुरी प्रहारबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

पीडित परिवारले जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले अस्वीकार गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार पीडक पक्षको उजुरी भने सहज रूपमा दर्ता गरिएको छ। साथै, घटनामा स्थानीय जनप्रतिनिधि र प्रहरीबीच मिलेमतो भएको आशंका समेत व्यक्त गरिएको छ।

यता, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक होमनाथ रेग्मीले भने मिति २०८३/०१/०८ मा कुटपिट सम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। पीडित परिवारले निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र आफ्नो उजुरी दर्ता गरी न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यस घटनाले स्थानीय स्तरमा न्यायप्रणालीप्रति प्रश्न उठाएको छ भने सर्वसाधारणले छिटो र निष्पक्ष कारबाहीको अपेक्षा गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5