रोहिणीमा संस्थागत प्रसुती सेवा विस्तार गर्ने तयारी

रोहिणी गाउँपालिका स्वास्थ्य शाखाले पूर्ण संस्थागत प्रसुती सेवा सुनिश्चित गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बुधबार धकधईमा आयोजित कार्यक्रममा वडा तथा पालिकास्तरमा संस्थागत प्रसुती सेवालाई प्रभावकारी रूपमा विस्तार गर्ने विषयमा विस्तृत अन्तर्क्रिया गरिएको थियो। कार्यक्रममा मातृ तथा शिशु मृत्यु दर घटाउने, सुरक्षित प्रसुती सुनिश्चित गर्ने र स्वास्थ्य सेवाको पहुँचलाई सबै नागरिकसम्म पुर्‍याउने विषयमा विशेष जोड दिइएको थियो।

कार्यक्रमका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी गाउँपालिकामा स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखिएको बताए। उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक बजेट व्यवस्थापन गरिने उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य पूर्वाधार, जनशक्ति र सेवा प्रवाहलाई अझ सुदृढ बनाइने बताए।

प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले रोहिणी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवा युक्त बनाउने दीर्घकालीन योजना रहेको बताए। उनले अहिले नै वडास्तरबाटै सेवा विस्तारका काम अघि बढाइएको उल्लेख गर्दै सन् २०८३ सम्ममा गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवा युक्त स्थानीय तह घोषणा गर्ने लक्ष्य लिइएको जानकारी दिए। यसका लागि जनचेतना अभिवृद्धि, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिइने उनले बताए।

कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीकी पब्लिक हेल्थ नर्स अधिकृत दिपा खड्काले प्रशिक्षण दिएकी थिइन्। उनले सुरक्षित मातृत्व, संस्थागत प्रसुतीको आवश्यकता, जोखिमयुक्त गर्भावस्थाको पहिचान तथा समयमै स्वास्थ्य संस्थामा पुग्ने बानी विकास गर्नुपर्ने विषयमा सहभागीहरूलाई जानकारी गराएकी थिइन्।

कार्यक्रम संयोजक राजेन्द्र प्रसाद नेपालले मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि संस्थागत प्रसुती सेवा अत्यन्तै प्रभावकारी माध्यम भएको बताए। उनले स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीच समन्वय बढाएर मात्रै लक्ष्य हासिल गर्न सकिने उल्लेख गरे। कार्यक्रममा गीता भट्टले स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिकाका प्रतिनिधि, ६ वटै वडाका स्वास्थ्य शाखा प्रमुख तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले संस्थागत प्रसुती सेवाको पहुँच विस्तार गर्न, समुदायमा जनचेतना फैलाउन तथा सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै प्रसुती गराउन प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रोहिणी गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने र सुरक्षित मातृत्व सुनिश्चित गर्ने दिशामा थप पहल गर्ने जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5