सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सम्बन्धी अन्तर्क्रिया

रोहिणी गाउँपालिकाले शैक्षिक सत्र २०८३ को सुरुवातसँगै विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यसहित विभिन्न योजनाहरू अघि सारेको छ। यसै सन्दर्भमा बुधबार राम नेरश स्कुलमा शिक्षा सम्बन्धी कार्ययोजना तथा विद्यालय सुधार योजनाबारे विस्तृत छलफल कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले आगामी शैक्षिक सत्रका लागि कार्यान्वयन गरिने शिक्षा सम्बन्धी रणनीतिहरू निर्माण प्रक्रियामा रहेको जानकारी दिए। उनले आफ्नो कार्यकालमा शिक्षा सुधारका क्षेत्रमा उल्लेखनीय कामहरू गरिएको दाबी गर्दै आगामी दिनहरूमा विद्यालयहरूको वास्तविक अवस्था मूल्यांकन गरेर आवश्यक परे मर्ज ९समायोजन० नीति अघि बढाइनेमा जोड दिए। उनका अनुसार विद्यार्थी संख्या, स्रोत साधन र व्यवस्थापन क्षमताको आधारमा विद्यालयहरूको पुनर्संरचना गरिनु आवश्यक छ।

त्यस्तै, वरिष्ठ शिक्षा अधिकृत कृष्ण भट्टराईले गाउँपालिकाले शिक्षक तथा शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले हालै आइटी सम्बन्धी एक हप्ते तालिम सम्पन्न भएको जानकारी दिँदै एकीकृत पाठ्यक्रम सम्बन्धी तालिमहरू पनि सञ्चालन गरिएको उल्लेख गरे। यस्ता तालिमहरूले शिक्षण विधि आधुनिक बनाउँदै विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउने विश्वास लिइएको छ।

यस अभियान अन्तर्गत गाउँपालिकाले सामुदायिक तथा परम्परागत विद्यालयका प्रधानाध्यापकहरू र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग समन्वय गर्दै विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ तथा स्रोत व्यक्तिहरूलाई आमन्त्रण गरी उनीहरूको सुझाव र मार्गदर्शन लिने कार्यलाई प्राथमिकता दिइएको छ।

कार्यक्रममा घनश्याम पाठकले प्रशिक्षण दिएका थिए। उनी प्रशिक्षण कालिका माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका वर्तमान क्याम्पस प्रमुख हुन्। उनले विद्यालय सुधारका लागि नेतृत्व क्षमता विकास, प्रभावकारी व्यवस्थापन, तथा शिक्षक(विद्यार्थी अन्तरक्रियालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।

गाउँपालिकाले यस्तो पहलले आगामी शैक्षिक सत्रमा विद्यार्थीहरूको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरेको छ। साथै विद्यालयहरूको प्रशासनिक तथा व्यवस्थापकीय पक्षलाई थप प्रभावकारी बनाउँदै समग्र शिक्षा प्रणालीलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउने लक्ष्य लिइएको छ।

कृष्ण प्रसाद भट्टराईको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सुनिता न्यौपानेले गरेकी थिइन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5