मेडिकल काउन्सिलद्वारा चिकित्सकसँग स्पष्टीकरण माग, ‘ग्यारेन्टी उपचार’ दाबी आचारसंहिता विपरीत

सुगर, थाइराइड र उच्च रक्तचाप (प्रेसर) जस्ता दीर्घकालीन रोगहरू “ग्यारेन्टीका साथ पूर्ण रूपमा निको पार्ने” भन्दै सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको विषयमा एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिल–एनएमसीले स्पष्टीकरण सोधेको छ।

काउन्सिलले उक्त चिकित्सकले टिकटक लगायतका सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सार्वजनिक गरेका भिडियो तथा सामग्रीहरूको अनुगमन र अध्ययनपछि यस्तो प्रचार नेपाल मेडिकल काउन्सिलको Code of Ethics & Professional Conduct, 2017 विपरीत रहेको निष्कर्ष निकालेको जनाएको छ। सोही आधारमा काउन्सिलले लिखित रूपमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

पत्रका अनुसार सम्बन्धित चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता नम्बर सहित पेशागत हैसियत प्रयोग गर्दै दीर्घरोगहरूमा “निश्चित परिणाम” वा “ग्यारेन्टी उपचार” हुने दाबी गरेका छन्। यस्तो किसिमको दाबीले बिरामीलाई भ्रमित पार्ने, अवास्तविक आशा जगाउने तथा चिकित्सकीय पेशाको मर्यादा र विश्वसनीयतामा असर पुर्‍याउने भएकाले यसलाई गम्भीर रूपमा लिइएको काउन्सिलले जनाएको छ।

पत्रमा थप उल्लेख भएअनुसार, काउन्सिलको आचारसंहिताका विभिन्न बुँदाहरू—विशेषगरी भ्रामक विज्ञापन, असत्य वा अतिरञ्जित दाबी तथा पेशागत मर्यादाविपरीतका गतिविधिहरू—उल्लंघन भएको देखिएको छ। काउन्सिलले यस विषयमा “किन कारबाही नगर्नेरु” भनी कारणसहितको स्पष्टिकरण तोकिएको समयभित्र लिखित रूपमा पेश गर्न सम्बन्धित चिकित्सकलाई निर्देशन दिएको छ।

निर्धारित समयसीमाभित्र स्पष्टीकरण पेश नगरेमा वा चित्तबुझ्दो जवाफ नआएमा प्रचलित कानुन तथा नियमावली अनुसार अनुशासनात्मक कारबाही अघि बढाइने काउन्सिलले चेतावनी दिएको छ। यस्ता कारबाहीमा सचेतनामूलक निर्देशनदेखि दर्ता निलम्बन वा खारेजीसम्मका कदमहरू समावेश हुन सक्ने जनाइएको छ।

काउन्सिलले पछिल्लो समय सामाजिक सञ्जालमा स्वास्थ्यसम्बन्धी भ्रामक दाबीहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण चिकित्सकहरूलाई पेशागत आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ। साथै, बिरामी तथा सर्वसाधारणलाई पनि यस्ता “ग्यारेन्टी उपचार” जस्ता दाबीप्रति सचेत रहन र आधिकारिक तथा प्रमाणमा आधारित उपचार सेवा मात्र लिन अनुरोध गरेको छ।

नेपाल मेडिकल काउन्सिलले आफ्नो आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराएको आचारसंहिता तथा निर्देशिकाहरूको पालना गर्न सबै चिकित्सकलाई पुनः आग्रह गर्दै यस्ता गतिविधि दोहोरिएमा कडा कारबाही गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5