होटल पौवा प्रालिको १० वर्ष पूरा, ‘मिसन १००’ लक्ष्यसहित भैरहवामा लगानी सम्मेलन सम्पन्न

स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई मूल आधार बनाएर सञ्चालन हुँदै आएको होटल पौवा प्रालि ले आफ्नो गौरवमय १० वर्ष पूरा गरेको अवसरमा भैरहवा शाखामा भव्य लगानी सम्मेलन सम्पन्न गरेको छ। शनिबार आयोजित उक्त सम्मेलनमा देशभरका विभिन्न शाखामा आबद्ध लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

एक दशकको यात्रामा कम्पनीले भोगेका विविध चुनौती र उपलब्धिहरूको समीक्षा गर्दै आगामी रणनीतिहरू सार्वजनिक गरिएको थियो। सम्मेलनमार्फत कम्पनीले अब ‘मिसन १००’ अभियान अघि बढाउने घोषणा गरेको छ, जसअन्तर्गत देशका विभिन्न प्रमुख शहर तथा पर्यटकीय क्षेत्रहरूमा १०० शाखासम्म विस्तार गर्ने लक्ष्य राखिएको जनाइएको छ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर बिष्णुप्रसाद ज्ञवाली ले स्वदेशमै सम्भावना खोज्दै लगानीकर्ताहरूलाई एकीकृत गर्ने उद्देश्यले कम्पनी अघि बढिरहेको बताए। उनले नेपाली युवाशक्तिलाई विदेश पलायनबाट रोक्न तथा देशभित्रै रोजगारी सिर्जना गर्न सामूहिक लगानीको अवधारणालाई प्राथमिकता दिइएको स्पष्ट पारे। “हामीले कर्मचारीहरूलाई समेत लगानीमा सहभागी गराउँदै उनीहरूलाई मालिकत्वको अनुभूति दिलाएका छौं, जसले व्यवसायप्रति जिम्मेवारी र समर्पण अझ बढाएको छ,” उनले भने।

नेपाली स्वाद, परिकार र आतिथ्यलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्देश्यसहित कम्पनीले चैत २६ देखि २८ गतेसम्म ‘स्वाद उत्सव’ आयोजना गरेको थियो। उक्त उत्सवमार्फत विभिन्न जातजाति र समुदायका परम्परागत खानाका परिकारहरू प्रस्तुत गरिनुका साथै नेपाली संस्कृतिको झल्को दिने सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो।

हाल होटल पौवा प्रालि सञ्जालअन्तर्गत करिब १ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् भने २५० भन्दा बढी लगानीकर्ताहरू प्रत्यक्ष रूपमा आबद्ध छन्। कम्पनीले सञ्चालन गर्दै आएका होटलहरूमा नेपाली मौलिकता झल्किने सजावट, परिकार र सेवामार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ।

साथै, कम्पनीले विभिन्न चाडपर्व तथा सांस्कृतिक अवसरहरूमा विशेष कार्यक्रमहरू आयोजना गर्दै नेपाली संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

सम्मेलनकै अवसरमा १० वर्षदेखि निरन्तर सेवा प्रदान गरेका तथा उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमले कम्पनीको विगतको सफल यात्रा मात्र नभई आगामी विस्तार योजना र दीर्घकालीन लक्ष्यलाई समेत स्पष्ट दिशानिर्देश गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5