श्रममन्त्री दिपककुमार साह पदमुक्त

बालेन शाह नेतृत्वको सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह लाई पदमुक्त गरेको छ। बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसका आधारमा साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्।

रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदको दुरुपयोग गरेको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। लामिछानेका अनुसार साहले आफ्नो श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा सदस्यका रूपमा सक्रिय गराएको पाइएको थियो, जुन पदीय मर्यादा विपरीत रहेको ठहर गरिएको छ।

यस विषयमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले बुधबार नै विस्तृत अध्ययन गरी मन्त्री साहमाथि कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पार्टी नेतृत्वसमक्ष बुझाएको थियो। उक्त प्रतिवेदनका आधारमा सभापति लामिछानेले प्रधानमन्त्रीलाई औपचारिक सिफारिस गरेका थिए।

रास्वपाले आफ्नो विधानको धारा २५ (४) (क) अनुसार पार्टीको आदर्श, सिद्धान्त र मर्यादा जोगाउने जिम्मेवारी सभापतिमा रहेको उल्लेख गरेको छ। साथै, धारा ६९ अनुसार पदको दुरुपयोग भएमा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने प्रावधान रहेको जनाइएको छ।

यसैबीच, सोही प्रकरणमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता लाई पनि प्रधानमन्त्री शाहले सचेत गराएका छन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार रास्वपाको सिफारिसका आधारमा मन्त्री साहलाई पदमुक्त गरिएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5