नेपाल कम्युनिस्ट पार्टी (एमाले) रुपन्देहीद्वारा कार्की आयोगको प्रतिवेदन खारेजको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीले कार्की आयोगको प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।

आइतबार देशभरका ७७ वटै जिल्लामा एमालेले विरोधस्वरूप सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो। रुपन्देहीमा समेत आयोजित कार्यक्रममा जिल्ला कमिटीले जारी गरेको विज्ञप्तिमा सरकारले उच्चस्तरीय छानबिन समितिको नाममा राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिशोधपूर्ण कदम चालिरहेको आरोप लगाइएको छ।

ज्ञापनपत्र एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, केन्द्रीय सदस्य दधिराम न्यौपाने लगायत नेताहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेललाई बुझाइएको थियो। प्रमुख जिल्ला अधिकारी पोख्रेलले ज्ञापनपत्र प्रधानमन्त्रीसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य न्यौपानेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई बिना सर्त तत्काल रिहा गर्न माग गरे। उनले माग पूरा नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।

एमालेले कार्की आयोगको प्रतिवेदन तत्काल खारेज गरी निष्पक्ष छानबिन प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ। अन्यथा थप प्रतिरोधात्मक कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ। कार्यक्रममा रुपन्देहीका विभिन्न क्षेत्रबाट नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5