
रुपन्देही, १ चैत । युनाइटेड अरब इमिरेट्स (यूएई) मा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँस्थित नेपाली दूतावासले नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन आग्रह गरेको छ।
दूतावासले ‘एडभाइजरी–३’ जारी गर्दै वर्तमान सुरक्षा अवस्थासँग सम्बन्धित संवेदनशील सूचना, भिडियो तथा तस्वीरहरू सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट पोस्ट, प्रसारण वा सेयर नगर्न अनुरोध गरेको हो।

यस्ता सामग्रीले सुरक्षा अवस्थाबारे भ्रम फैलिन सक्ने भएकाले जिम्मेवार व्यवहार गर्न दूतावासले अपिल गरेको छ। साथै यूएईमा बसोबास गर्ने सबै नेपालीले त्यहाँको कानुन पूर्ण रूपमा पालना गर्नुपर्ने भएकाले गैरकानुनी तथा अनुमतिविनाका गतिविधिमा संलग्न नहुन पनि सचेत गराइएको छ।
दूतावासका अनुसार यस्ता गतिविधिमा संलग्न पाइए यूएईको कानुनअनुसार १ देखि ३ वर्षसम्म कैद सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिबाना हुन सक्छ।
त्यसैगरी, मिसाइल वा ड्रोन अवरोध गर्दा जमिनमा खसेका अवशेष नजिक नजान, तस्वीर नखिच्न तथा सार्वजनिक नगर्न पनि आग्रह गरिएको छ।
दूतावासले यूएई सरकार तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचनामार्फत मात्र जानकारी लिन र अद्यावधिक जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेज नियमित हेर्न नेपाली समुदायलाई अनुरोध गरेको छ।
अन्त्यमा दूतावासले यूएईमा रहेका सबै नेपालीलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न अपिल गरेको छ।




