
भैरहवा । रोटर्याक्ट क्लब अफ सिद्धार्थनगरले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल अभिनाश अनाथ आश्रम, कोटिहवामा खाद्यान्न सामग्री वितरण गरेको छ।
समाजसेवा र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै क्लबले आश्रममा रहेका बालबालिकाको दैनिक आवश्यकतालाई ध्यानमा राखेर खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष जीवन अचार्यले रोटर्याक्ट क्लब अफ सिद्धार्थनगरलाई यहाँसम्म पुर्याउन क्लबका सम्पूर्ण सदस्यहरूको सक्रियता र सहकार्य महत्वपूर्ण रहेको बताए। उनले आगामी दिनमा पनि सामाजिक सेवा, मानवीय सहयोग तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिँदै समाजमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
क्लबका प्रेसिडेन्ट इलेक्ट विशाल भण्डारीले स्थापना भएदेखि नै क्लबले सामाजिक सेवामुखी गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए। युवाहरूलाई समाजसेवामा जोड्दै सकारात्मक सामाजिक परिवर्तनतर्फ योगदान गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
यस अवसरमा नेपाल अभिनाश अनाथ आश्रमका सञ्चालक कृष्ण ज्ञवालीले आश्रमको वर्तमान अवस्था, सञ्चालन भइरहेका गतिविधि तथा आश्रित बालबालिकाको अवस्थाबारे जानकारी गराए। उनले आश्रम सञ्चालनमा समाजका विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले ठूलो भूमिका खेलेको उल्लेख गर्दै रोटर्याक्ट क्लबले गरेको सहयोगप्रति आभार व्यक्त गरे।

कार्यक्रमकै क्रममा प्रमुख अतिथि रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष रोटेरियन परशुराम पराजुलीले व्यक्तिगत रूपमा रु. ५,००० आर्थिक सहयोग प्रदान गरेका थिए। त्यसैगरी समाजसेवी मनन निषादले पनि व्यक्तिगत रूपमा रु. ४,००० आर्थिक सहयोग प्रदान गरेका थिए।
कार्यक्रममा रोटेरियन ओम जैसीसहित विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा भैरहवा क्षेत्रका अन्य रोटर्याक्ट र रोटरी क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।




