रुपन्देहीका पाँचै क्षेत्रमा घण्टीको ऐतिहासिक जित

मनोज क्षेत्री , रुपन्देही । रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा क्षेत्रमा घण्टी चुनाव चिन्हले ऐतिहासिक सफलता हासिल गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले जिल्लाका सबै क्षेत्रमा जित निकाल्दै नयाँ राजनीतिक सन्देश दिएका छन् ।

निर्वाचन परिणामअनुसार रुपन्देही क्षेत्र नम्बर १ बाट इन्जिनियर सुनिल लम्साल, क्षेत्र नम्बर २ बाट सुलभ खरेल, क्षेत्र नम्बर ३ बाट डा. लेखजंग थापा, क्षेत्र नम्बर ४ बाट कन्हैया बानियाँ र क्षेत्र नम्बर ५ बाट तौफिक अहमद खान विजयी भएका छन् । पाँचवटै क्षेत्रमा घण्टी चुनाव चिन्हका उम्मेदवार विजयी भएसँगै रुपन्देही जिल्लामा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा देखिएको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी उम्मेदवारहरूले मतदाताप्रति आभार व्यक्त गर्दै जिल्लाको विकास, सुशासन र पारदर्शिताका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका डा. लेखजंग थापा ले जनताको अपेक्षा अनुसार काम गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा रोजगारीका क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी रुपन्देही क्षेत्र नम्बर २ का विजयी उम्मेदवार सुलभ खरेल ले आफू “प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको” भन्दै अब जनताप्रति अझ जिम्मेवार भएर काम गर्ने बताएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार रुपन्देहीका पाँचवटै क्षेत्रमा एउटै पार्टीको जित हुनु जिल्लाको राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । यस परिणामले आगामी दिनमा जिल्लाको राजनीतिक समीकरणमा समेत ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । मतदाताहरूले पनि पुराना राजनीतिक अभ्यासभन्दा फरक विकल्प रोज्दै परिवर्तनको पक्षमा मत दिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5