
भैरहवा। रुपन्देही क्षेत्र नं. ३ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक माहोल तातिएको छ। यसबीच बासुदेव घिमिरेलाई धेरै मतदाताले विकासमुखी नेताका रूपमा हेर्न थालेका छन्।
पूर्व नगरप्रमुख तथा प्रतिनिधिसभा सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका घिमिरेले तिलोत्तमा नगरपालिकामा गरेको काम अहिले पनि स्थानीयको स्मृतिमा ताजा छ। स्थानीयहरू उनको कार्यकाललाई ‘पूर्वाधार विस्तार र व्यवस्थापन सुधारको समय’ भनेर सम्झन्छन्।

उनको नेतृत्वमा तिलोत्तमामा सडक विस्तार, सरसफाइ अभियान, हरियाली प्रवद्र्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम सञ्चालन भएका थिए। मुख्य तथा भित्री सडक कालोपत्रे र चौडा बनेपछि आवागमन सहज भएको मात्र होइन, स्थानीय व्यापार–व्यवसायमा पनि चलायमानता आएको थियो।

प्रतिनिधिसभा सदस्य भएपछि उनले रुपन्देही क्षेत्र नं. ५ मा समेत पूर्वाधार विकासलाई प्राथमिकता दिएको देखिन्छ। रामापुर–लुम्बिनी सडकलाई डेडिकेट डबल लेनमा विस्तार गर्ने काम सुरु भइसकेको छ भने फायरलाइनदेखि लुम्बिनी कक्रहवा नाकासम्मको सडक स्तरोन्नति गरिएको छ। सूर्यपुरा–मजदिया र खुनगाई–हुलाकी सडक खण्डमा नाली निर्माणसहित विस्तारको काम अघि बढिरहेको छ।
लुम्बिनी विकास कोष क्षेत्रभित्र सडक विस्तार, पुल निर्माण तथा मोग्लाह सडक निर्माणका काम पनि क्रमशः अघि बढेका छन्। कञ्चन, गैडहवा, सैनामैना र मायादेवीका ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तारले ग्रामीण बस्तीको स्वरूप परिवर्तन हुँदै गएको स्थानीय बताउँछन्।
सिँचाइ योजना र स्वास्थ्य संस्थाको सुदृढीकरणले सामाजिक क्षेत्रलाई समेत टेवा पुर्याएको छ। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै बजेट व्यवस्थापनमा जोड दिनु घिमिरेको कार्यशैलीको विशेषता रहेको स्थानीयको धारणा छ।
तिलोत्तमा–१३ का युवा सागर भट्टराई भन्छन्, “विकास निरन्तरता र योजनाबाट हुन्छ भन्ने कुरा यहाँ देखिएको छ।”
यद्यपि अझै केही सडक कालोपत्रे हुन बाँकी छन् र धेरै योजना सम्पन्न हुन समय लाग्ने देखिन्छ। तर सुरु भएका ठूला आयोजनाले दीर्घकालीन परिवर्तनको आधार तयार गरिसकेको मतदाताको बुझाइ छ।
यही पृष्ठभूमिमा रुपन्देही क्षेत्र नं. ३ मा घिमिरेलाई विकासको निरन्तरता दिन सक्ने उम्मेदवारका रूपमा चित्रित गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।




