मर्चवार केन्द्रित योजनासहित प्रमोद यादव घरदैलोमा

भैरहवा, १६ फागुन

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रमोद कुमार यादवले मर्चवार केन्द्रित विकास योजना सार्वजनिक गरेका छन्। नीति निर्माणदेखि भौतिक पूर्वाधार विस्तारसम्मका विषयलाई समेट्दै उहाँले मर्चवारलाई कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनका दृष्टिले आत्मनिर्भर र समृद्ध क्षेत्र बनाउने प्रतिबद्धता जनाए ।

घरदैलो कार्यक्रमका क्रममा मतदातासँग संवाद गर्दै यादवले मर्चवारलाई कृषि उर्वर क्षेत्रका रूपमा घोषणा गरी सिँचाइ व्यवस्थापन, कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना, शीत भण्डार सञ्चालन र बिउबिजन केन्द्र स्थापना गर्ने योजना अघि सारेका छन्। साथै सम्मरीमाईको तरेनी थुमुवामा छोटी भन्सार नाका सञ्चालन गर्ने नीति बनाउने घोषणा गरेका छन्।

उनले निर्वाचित भएपछि प्रत्येक घरमा शुद्ध खानेपानीको धारा जडान गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने तथा प्रत्येक गाउँपालिकामा दमकलको व्यवस्था गर्ने योजना रहेको बताए। २०७४ सालमा निर्वाचित हुँदा मर्चवारलाई खपडा मुक्त बनाएको स्मरण गर्दै अब खानेपानी र स्वास्थ्य पूर्वाधार विस्तारमा जोड दिने उनको भनाइ छ।

सडक पूर्वाधारतर्फ लुम्बिनी–मर्चवारी, मर्चवारी–भैरहवा सडक स्तरोन्नति, मर्चवार रिंगरोड निर्माण, भैरहवा विमानस्थलदेखि बनघुसरीसम्म सडक विस्तार तथा दानव नदीमा पक्की पुल निर्माण गर्ने योजना अघि सारिएको छ। डुबान क्षेत्र पहिचान गरी तटबन्ध निर्माण गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ।

स्वास्थ्य र शिक्षामा प्रत्येक पालिकामा १५ शैयाको अस्पताल, सुविधासम्पन्न अस्पताल सञ्चालन, कोटहीमाईको मझगावामा रहेको डिग्री कलेज व्यवस्थापन तथा कृषि प्राविधिक शिक्षालय सञ्चालन गर्ने योजना रहेको छ। युवालाई लक्षित गर्दै खेलकुद मैदान निर्माण, फुटबल, भलिबल, क्रिकेट प्रशिक्षण कार्यक्रम तथा अन्तर्राष्ट्रिय स्तरको कुस्ती स्पोर्ट्स एकेडेमी स्थापना गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

धार्मिक तथा ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै मर्चवारीमाई, कोटहीमाई, सम्मरीमाई र केवटलिया समईमाईलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। साथै मर्चवारलाई ‘अन्न भण्डार’ का रूपमा स्थापित गरी संघीय सरकारबाट विशेष कार्यक्रम ल्याउने पहल गरिने यादवले उल्लेख गरे।

“जेनजी पुस्ताको जोस र जेनवाई पुस्ताको होशलाई समेट्दै समृद्ध मर्चवार र खुसी मर्चवारबासी बनाउने अभियानलाई सफल बनाउनेछौं,” यादवले घरदैलोका क्रममा बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5