
भैरहवा । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले विश्व रोटरी दिवसको अवसरमा सहयोग कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई जुत्ता वितरण गरेको छ। क्लबले भैरहवा नमुना माध्यमिक विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीलाई जुत्ता हस्तान्तरण गरेको जनाएको छ।
आर्थिक रूपमा कमजोर तथा आवश्यकता भएका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको क्लबले स्पष्ट पारेको छ। कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष पर्शुराम पराजुलीले शिक्षा समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउन सानो सहयोग पनि अर्थपूर्ण हुने बताए।

उनले सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा निरन्तर कार्यक्रम गर्दै आएको जानकारी दिए। विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले क्लबप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गरे।
विश्व रोटरी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले सेवाभाव, सहकार्य र सामाजिक प्रतिबद्धताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।




