
रुपन्देही, फाल्गुन ११ ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ। सोमबार ओमसतिया गाउँपालिका वडा नं. ४ र ५ का विभिन्न टोलमा कार्यक्रम सञ्चालन गरिएको हो।
क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिरा केसी को उपस्थितिमा सम्पन्न कार्यक्रमका क्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो। घरदैलो अभियानअन्तर्गत उम्मेदवार केसीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा र विकासका प्राथमिकताबारे जानकारी गराएका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार केसीले पछिल्लो समय जनतामा राजनीतिक नेतृत्वप्रति देखिएको अविश्वासलाई विश्वासमा रूपान्तरण गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताए। “राजनीतिलाई सेवाको माध्यमका रूपमा स्थापित गर्दै पारदर्शी र जवाफदेही अभ्यासलाई सुदृढ गर्ने प्रतिबद्धता लिएको छु,” उनले भने।
आफू यही क्षेत्रको स्थायी बासिन्दा रहेको उल्लेख गर्दै केसीले निर्वाचनमा विजयी भए पनि सधैं जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने प्रतिवद्धता व्यक्त गरे। “निर्वाचनपछि पनि म यही समुदायसँगै रहनेछु, जनताका समस्या सुन्ने र समाधानका लागि निरन्तर पहल गर्नेछु,” उनले स्पष्ट पारे।
घरदैलो कार्यक्रममा स्थानीयले सडक, सिंचाइ, स्वास्थ्य सेवा र रोजगारीका विषयमा आफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए। उम्मेदवार केसीले ती सबै विषयलाई प्राथमिकतामा राखी योजनाबद्ध ढंगले अगाडि बढ्ने आश्वासन दिएका छन्।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ ले आगामी दिनहरूमा पनि निर्वाचन क्षेत्रका अन्य वडामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




