
कमल रायमाझी
रुपन्देही । विक्रम सम्वत् २००३ साल जेठ १ गते तत्कालीन पोखराथोक गाउँ पञ्चायत–खिदिममा बुवा रामबहादुर पोखरेलको घरमा जन्मनुभएकी मुमकुमारी पोखरेल रायमाझी आज आठ दशक पार गरिसक्दा एउटा जीवित इतिहास जस्तै लाग्छिन्।
१८ सन्तान जन्माएकी उहाँ केवल आमा मात्र होइन, संघर्ष, त्याग र सहनशीलताको प्रतिमूर्ति पनि हुनुहुन्छ।
१३ वर्षमै विवाह, नयाँ जीवनको कठिन सुरुवात
विसं २०१६ सालमा मात्र १३ वर्षको कलिलो उमेरमै उहाँको विवाह तत्कालीन बल्ढेङ्गढी गाउँ पञ्चायत, बल्ढेङ्गढीका लाहुरे तथा बडा हाकिम परिवारका निरखबहादुर रायमाझीसँग भयो। आफूभन्दा झन्डै २२ वर्ष जेठा श्रीमानसँग वैवाहिक जीवन गाँसिनु उहाँका लागि सहज थिएन, तर त्यो समयको सामाजिक परिवेशमा सामान्य मानिन्थ्यो।
विवाहपछि तीन वर्षसम्म माइतमै बस्नुभएकी उहाँ पछि श्रीमानको घरमा बुहारीका रूपमा भित्रिनुभयो। ठूलो खानदान, लाहुरे श्रीमान र बडा हाकिमको परिवार—सबै मिलेर उहाँका लागि जिम्मेवारीको भारी थपिन पुग्यो।
मातृत्वको पीडा र १८ सन्तानको कथा विसं २०२३ सालमा पहिलो सन्तान भक्तबहादुर रायमाझीलाई जन्म दिँदा उहाँ मातृत्वको यात्रामा प्रवेश गर्नुभयो। तर दोस्रो सन्तान १० महिनाको हुँदा नै बितेपछि उहाँले असह्य वियोग भोग्नुपर्यो। त्यसपछि झन्डै हरेक वर्ष सन्तान जन्माउँदै जानुभयो—कोही जन्मिएपछि बिते, कोही केही समयमै काखबाट टाढा भए।
१८ सन्तानमध्ये ९ सन्तान अहिले जीवित छन् भने ९ सन्तान गुमाउनु परेको पीडा उहाँको मनमा अझै ताजा छ। “मन कहिलेकाहीँ कठोर बनाउनु बाध्यता भयो,” उहाँ सम्झनुहुन्छ।
गोठको जीवन र अपमानको घाउ पहिलो सन्तान जन्मेपछि घरमा सासूसँग सम्बन्ध बिग्रँदा उहाँलाई घरबाट टाढा गोठ जङ्गलको बीचमा रहेको तिखेचुलीमा खरको छानामुनि बस्नुपर्ने अवस्था आयो। एकातिर सन्तान जन्माउने क्रम, अर्कोतिर दर्जनौं गाईभैंसीको स्याहार—जीवन साँच्चिकै कहालीलाग्दो थियो।
बच्चा बोकेर काउले, ठुलाखेत, तिखेचुली र बल्ढेङ्गढी सम्म हिँड्नुपर्ने दिनहरू आज उहाँका लागि कथा जस्तै लाग्छन्। “झन्डै एक मुरी धान बोकेर दिनभरि हिँड्थें,” उहाँ भन्नुहुन्छ, “पराल र घाँसका भारी त सामान्य जस्तै थिए।”
पहाडदेखि बुटवलसम्म
६९ वर्षसम्म पहाडमै जीवन बिताएर परिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्नुभएकी उहाँ ७१ वर्षको उमेरमा छोरा रेशम रायमाझीसँग बुटवल झर्नुभयो। विसं २०६७ सालमा श्रीमानको निधन भएपछि उहाँ छोराहरूसँगै बस्न थाल्नुभयो। हाल बुटवल–देवीनगरमा बसोबास गर्दै आउनुभएको छ।
तर उहाँको मन भने अझै बल्ढेङ्गढी, तिखेचुली र काउलेमै डुलिरहन्छ। “जान त मलाई उतै मन छ, तर अब शरीरले साथ दिँदैन,” उहाँ भावुक हुँदै भन्नुहुन्छ।
२०० भन्दा बढी सन्ततिकी अभिभावक
रायमाझी परिवारकी जेठी बुहारीका रूपमा उहाँ अहिले २०० भन्दा बढी नाति–नातिनाको अभिभावक हुनुहुन्छ। चाडपर्व, विवाह र पारिवारिक जमघटमा सबैले उहाँको आशीर्वाद लिन भेला हुन्छन्। एक छोरा अमेरिकामा बस्ने भए पनि फोन र सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क हुने गरेको उहाँ बताउनुहुन्छ।
समय बदलियो, तर संस्कार नछुटोस्
पहाडमा सबै सँगै बस्ने संस्कार थियो, तर तराई झरेपछि दूरी बढेको अनुभव उहाँसँग छ। “धनसम्पत्ति जति भए पनि काम र दुःख उस्तै थियो,” उहाँ भन्छिन्, “तर संस्कारले परिवारलाई जोडिराख्थ्यो।”
नयाँ पुस्तामा संस्कार हराउँदै गएकोमा उहाँ चिन्तित हुनुहुन्छ। “आफूभन्दा ठूलालाई सम्मान र सानालाई संस्कार सिकाउनु हाम्रो परम्परा हो,” उहाँको सन्देश छ, “संस्कार भए घरमा भगवानको बास हुन्छ।”
दुःखबाट सम्मानसम्म
हिजो अभाव र अपमान सहेर जीवन बिताउनुपरे पनि आज उहाँलाई परिवारले भगवानसरह मान्ने गरेको छ। छोरा–छोरी, नातिनातिना वरिपरि हुँदा उहाँ सन्तुष्ट देखिनुहुन्छ। तर विगत सम्झँदा जीवन सपना जस्तै लाग्ने बताउनुहुन्छ।
१८ सन्तान जन्माएकी मुमकुमारी पोखरेल रायमाझी केवल एक आमा होइनन्—उहाँ नेपाली समाजको त्याग, श्रम र संस्कारको प्रतीक हुनुहुन्छ। दुःखको डोको बोकेर पनि परिवारलाई एकसूत्रमा बाँध्न सफल उहाँ साँच्चिकै एक महान आमाको जीवित कथा हुनुहुन्छ।




