
चुनावी माहोल तातिरहेको छ । राजनीतिक नेतृत्वप्रति जनताको अपेक्षा र विश्वासको विषय निकै महत्वपूर्ण बन्दै गएको छ । विशेषगरी नयाँ सोच, नयाँ शैली र विकासमुखी नेतृत्वको खोजी भइरहेको वर्तमान समयमा विभिन्न उम्मेदवारहरू आ–आफ्ना एजेन्डासहित मतदातामाझ पुगिरहेका छन् । यसै सन्दर्भमा व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएका कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्नप्रसाद पौडेलसँग पुनहरि बेल्बासेले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।
१) अहिले तपाईँ चुनावी मैदानमा खटिनु भएको छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
अहिले म चुनावी मैदानमा सक्रिय रूपमा खटिरहेको छु । घरदैलो अभियान, भेटघाट र छलफलका क्रममा मैले अत्यन्तै राम्रो र उत्साहजनक प्रतिक्रिया पाएको छु । म नयाँ अनुहार भएर पनि व्यवसायिक क्षेत्रबाट आएको हुनाले मतदाताहरूले मलाई धेरै रुचाएको मैले स्पष्ट रूपमा महसुस गरेको छु । जनताले अब पुरानो शैलीको राजनीति भन्दा पनि काम गर्ने नेतृत्व चाहेको मैले अनुभव गरेको छु ।
विशेषगरी युवाहरू, महिला दिदीबहिनीहरू र ज्येष्ठ नागरिकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छु । धेरैजसो मतदाताहरूले विकासको स्पष्ट खाका, रोजगारीको सुनिश्चितता र सामाजिक न्यायको पक्षमा काम गर्ने नेतृत्व खोजिरहेको मैले देखेको छु । मैले पनि आफ्नो अभियानमा कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढेको छु ।
घरदैलोमा जाँदा धेरैजसो नागरिकहरूले विकासका कामहरू छिटो हुनुपर्ने, स्थानीय स्रोत साधनको उपयोग हुनुपर्ने र युवाहरू विदेश जान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिनुभएको छ । त्यही सुझावहरू नै मेरो ऊर्जा बनेको छ । म जनताको अपेक्षालाई बुझेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

२।) तपाईँ एक सफल व्यवसायी हुनुहुन्छ । व्यवसाय गर्दा र राजनीति क्षेत्रमा के फरक पाउनुभएको छ ?
व्यवसाय र राजनीतिमा केही फरक त अवश्य हुन्छ । व्यवसाय गर्दा व्यवस्थापन, आर्थिक योजना, उत्पादन र बजार रणनीतिमा ध्यान दिनुपर्छ । व्यवसायमा परिणाम तत्काल देखिने खालको हुन्छ । तर राजनीतिमा जनताको विश्वास जित्नु सबैभन्दा महत्वपूर्ण कुरा हो ।
म व्यवसाय क्षेत्रमा रहेर पनि सामाजिक क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको थिएँ । रोजगारी सिर्जना, सामाजिक सहयोग र समुदाय विकासका काममा मेरो संलग्नता रहँदै आएको थियो । त्यसैले राजनीति क्षेत्रमा प्रवेश गर्दा मलाई धेरै असहज महसुस भएन । म राजनीतिलाई पेशा होइन, सेवा गर्ने माध्यमका रूपमा लिएको छु ।
मलाई लाग्छ व्यवसायबाट सिकेको अनुशासन, योजना व्यवस्थापन र समयको महत्व राजनीतिक जीवनमा पनि प्रयोग गर्न सकिन्छ । म निर्णय गर्दा पारदर्शिता, जवाफदेहिता र जनताको हितलाई केन्द्रमा राख्नेछु ।

३) व्यावसायिक सपोर्टले गर्दा चुनाव जित्छु जस्तो लाग्छ तपाईँलाई ?
मलाई लाग्छ चुनाव जित्नु भनेको केवल आर्थिक वा व्यावसायिक सपोर्टले मात्र हुँदैन । चुनाव जित्ने मुख्य आधार भनेको जनताको विश्वास हो । अहिले म चुनावी अभियानमा जाँदा आम नागरिकहरू निकै उत्साहित देखिन्छन् । कतिपय मतदाताहरूले त “कहिले फागुन २१ आउँछ र मतदान गर्छु” भनेर उत्साह व्यक्त गर्नुभएको छ ।
जनताको यो उत्साह नै मेरो लागि सबैभन्दा ठूलो शक्ति हो । म अत्यधिक आत्मविश्वासी छु तर घमण्ड छैन । म सधैं जनताको साथ र सुझावलाई सम्मान गर्छु । अन्तिम निर्णय जनताले नै गर्ने भएकाले म जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
४) मतदाताले तपाईँलाई किन भोट हाल्ने ?
मतदाताले मलाई भोट दिनुपर्ने मुख्य कारण भनेको म यही समाजमा लामो समयदेखि सामाजिक काम गर्दै आएको छु । मैले यहाँका समस्या नजिकबाट देखेको र भोगेको छु । सुकुम्बासी समस्या, बेरोजगारी, स्वास्थ्य सेवा अभाव, शिक्षा पहुँचको समस्या जस्ता विषयहरू मैले आफ्नै आँखाले देखेको छु ।
म राजनीतिमा आएर केवल भाषण गर्ने होइन, काम गरेर देखाउने योजना लिएर आएको छु । जनताले अब आश्वासन होइन, परिणाम खोजिरहेका छन् । त्यसैले म काममा आधारित राजनीति गर्न चाहन्छु ।
म यहाँका जनताको जीवनस्तर सुधार गर्न, विकासलाई दिगो बनाउन र सामाजिक न्याय सुनिश्चित गर्न प्रतिबद्ध छु । यदि जनताले मलाई विश्वास गरेर जिम्मेवारी दिनुभयो भने म इमानदारीपूर्वक काम गर्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।
५) तपाईँका मुख्य एजेन्डाहरू के कस्ता रहेका छन् ?
मेरो मुख्य एजेन्डा रोजगारी सिर्जना हो । अहिले हाम्रो देशमा रोजगारीको ठूलो समस्या छ । युवाहरू राम्रो भविष्यको खोजीमा विदेश पलायन हुन बाध्य भएका छन् । यसले गाउँघर खाली हुँदै गइरहेका छन् । म यसलाई रोक्न चाहन्छु ।
स्थानीय स्तरमै उद्योग, कृषि आधुनिकीकरण र उद्यमशीलता विकास गरेर रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । म युवाहरूलाई सीपमूलक तालिम, सहुलियत ऋण सुविधा र बजार पहुँचको व्यवस्था गर्न पहल गर्नेछु ।
लालपुर्जा वितरणको समस्या पनि मेरो प्राथमिकतामा छ । यस क्षेत्रमा लामो समयदेखि लालपुर्जा वितरणको काम रोकिएको छ । अघिल्ला नेतृत्वहरूले धेरैपटक आश्वासन दिए पनि कार्यान्वयन हुन सकेन । यसले सुकुम्बासी र भूमिहीन परिवारहरू निराश भएका छन् । म यो समस्या समाधान गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
स्वास्थ्य क्षेत्र सुधार पनि मेरो अर्को महत्वपूर्ण एजेन्डा हो । गरिब तथा विपन्न परिवारका नागरिकहरूलाई उपचारको पहुँचबाट टाढा रहनु नपरोस् भन्ने मेरो उद्देश्य हो । त्यसका लागि स्वास्थ्य सेवा विस्तार, निःशुल्क औषधि वितरण र स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना छ ।
शिक्षा क्षेत्र पनि मेरो प्राथमिकतामा छ । विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने मेरो मान्यता छ । शिक्षा प्राप्त गर्ने अवसर सबैलाई समान हुनुपर्छ । कुनै पनि बालबालिका आर्थिक अवस्थाका कारण शिक्षाबाट वञ्चित हुनुहुँदैन ।
अन्त्यमा म भन्न चाहन्छु, म राजनीतिमा व्यक्तिगत स्वार्थका लागि आएको होइन । म समाज परिवर्तनका लागि आएको हुँ । मेरो राजनीति सेवा, विकास र जनताको जीवनस्तर सुधारमा केन्द्रित हुनेछ ।
यदि जनताले विश्वास गरेर मलाई जिम्मेवारी दिनुभयो भने म इमानदारी, पारदर्शिता र प्रतिबद्धताका साथ काम गर्नेछु । मेरो लक्ष्य विकास र समृद्ध समाज निर्माण गर्नु हो । अब निर्णय गर्ने अधिकार जनताको हातमा छ, र म जनताको साथ र विश्वासप्रति सदैव आभारी रहनेछु ।




