हस्तलिखित पत्रमार्फत विष्णुप्रसाद पौडेलको मतदाता अपिल, विकासलाई मुख्य एजेन्डा

रूपन्देही । विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रूपन्देही–२ का मतदातालाई हस्तलिखित पत्र पठाउँदै विकास–समृद्धिलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्। घरदैलो अभियानकै क्रममा व्यक्तिगत नाम उल्लेख गरी पठाइएको पत्रमार्फत उनले आफ्ना विगतका काम, वर्तमान जिम्मेवारी र आगामी योजना सार्वजनिक गरेका हुन्।

एमाले नेता युवराज घिमिरेका अनुसार निर्वाचन परिचालन कमिटीको समन्वयमा मतदाताको नामै लेखेर पत्र पुर्‍याउने अभियान सञ्चालन गरिएको हो। यसलाई पारदर्शिता र प्रत्यक्ष संवादको प्रयासका रूपमा प्रस्तुत गरिएको छ।

पत्रमा पौडेलले आसन्न निर्वाचनलाई संविधान, लोकतन्त्र, राष्ट्रियता र विकासको दिशानिर्धारण गर्ने अवसरका रूपमा चित्रण गरेका छन्। विगतमा मतदाताबाट प्राप्त विश्वासकै आधारमा अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणलाई गति दिने तथा महामारी र आर्थिक चुनौतीबीच स्थायित्व कायम राख्ने प्रयास गरेको उनले उल्लेख गरेका छन्। भूकम्पपछिको पुनर्निर्माण, नाकाबन्दीपछिको आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ महामारीका बेला अर्थतन्त्र जोगाउन खेलेको भूमिकासमेत उनले स्मरण गरेका छन्।

रूपन्देहीलाई सम्भावनाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित ठूला पूर्वाधार आयोजना अघि बढाइएको उनको दाबी छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया व्यापारिक करिडोर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थलजस्ता आयोजनाले क्षेत्रको पहिचान उकासेको उनले उल्लेख गरेका छन्।

यसैगरी लुम्बिनी विकास कोष अन्तर्गतको लुम्बिनी गुरुयोजना, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल मेडिकल कलेज, प्रादेशिक अस्पताल, कृषि थोक बजार, सिद्धार्थ राजमार्ग स्तरोन्नति तथा बुटवल–नारायणगढ सडक विस्तारजस्ता योजनाले आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुर्‍याएको उनको भनाइ छ।

पौडेलले पत्रमार्फत अधुरा आयोजना शीघ्र सम्पन्न गर्ने, नयाँ योजना अघि बढाउने, औद्योगिक क्षेत्र विस्तार गर्ने तथा रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5