
आसन्न फागुन २१ गतेको निर्वाचनको लागि विभिन्न दलका उम्मेदवारहरु विभिन्न चुनाबी कार्यक्रम लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवारहरुले विकासे एजेन्डादेखि , सामाजिक कार्यक्रम पनि साथै लिएर जनतासँग प्रतिबद्धता गरिरहेका छन् । यसै परिवेशमा प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरूसँग नेपाल वर्ड डटकमले ५ प्रश्न निर्वाचन विशेष स्तम्भ प्रकाशन गरिरहेकोछ । निर्वाचन विशेषको सो स्तम्भको लागि रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका दधिराम न्यौपाने ९एमएस०सँग हाम्रा सहकर्मी प्रतिक पौडेल र जेपी रायले गरेको कुराकानीको सम्पादित अंश:
स्वागत छ तपाईंलाई कार्यक्रममा। आज तपाईं घरदैलो कार्यक्रममा हुनुहुन्छ, मतदाताबाट के–कस्ता प्रतिक्रिया पाउनुभएको छ ?

धन्यवाद। यतिबेला म रुपन्देही क्षेत्र नं १ को मतदाताको घरदैलो छु । यो क्रममा जनतामा निकै ठूलो उत्साह र आशा बढेको देखेको छु । मैले अहिले सम्म भेटेका मतदाताहरूले मुख्य रूपमा आर्थिक उन्नति, सुशासन र समृद्धिको कुरा उठाउनुभएको छ । उहाँहरूले खेतीपातीको सुधार मात्र होइन, राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिनुपर्छ भनेर हामीलाई सुझाव दिनुभएको छ । लोकतन्त्रलाई अझ सुदृढ र उन्नत बनाउनुपर्छ भन्ने उहाँहरूको चाहना छ । यो क्षेत्रमा हामीले विगतमा निर्वाचन पनि जितेको हो । विगतमा हामीले धेरै काम गरिरहेका छौ । यो पटक हामीले रुपन्देही १ का जनताको समृद्धिको लागि विगतमा गरेका धेरै कामलाई निरन्तरता दिनु छ । हामीले विगतमा निर्वाचन जित्दा सुरु गरेका सडक र लुम्बिनी बौद्ध विश्वविद्यालय जस्ता अधुरा कामलाई पूर्णता दिने योजना सुनाएका छौँ । खासगरी २० हजार विद्यार्थीले लाभ लिने विश्वविद्यालयको योजना र ’कृषि स्मार्ट गाउँ’ लाई अझ व्यापक बनाउने कुरामा जनता उत्साहित हुनुहुन्छ। त्यस्तै तिलोत्तमा, देवदह, रोहिणी र ओमसतियाको कनेक्टिभिटी बढाउन रोहिणी नदीमा पुल र सडक निर्माण गर्ने हाम्रो प्रतिबद्धतामा जनताले निकै सकारात्मक प्रतिक्रिया दिनुभएको छ।
जनताले नेकपा एमालेलाई किन भोट दिनेरु अहिले त्यस्तो परिवर्तन के छ ?
नेकपा (एमाले) लाई मत दिनुपर्ने मुख्य कारण यो पार्टी राष्ट्रियताको पक्षमा र वैदेशिक हस्तक्षेपको विरुद्धमा सधैँ चट्टान झैँ उभिनु नै हो । हामीले अघि सारेको समृद्धिको नारा केवल चुनावी नारा मात्र होइन, ती सपनालाई हामीले व्यवहारमा लागू गर्ने क्रममा छौँ। सुशासन कायम गर्ने र नेपाली जनताको आत्मसम्मान बढाउने काममा एमाले स्पष्ट छ। त्यसैले, जुन सपना हामीले जनतालाई बाँडेका छौँ, ती पूरा गर्न सूर्य चिह्नमा मतदान गर्नुपर्छ भन्ने आम जनमत बनेको छ।
तपाईंले यो क्षेत्रमा जित्ने मुख्य आधार के हुन् र विकासका लागि तपाईंले उठाएका एजेन्डाहरू के–के छन ?
मेरो जितको मुख्य आधार भनेको यहाँका जनतासँगको मेरो अटुट सम्बन्ध हो। म यहीँको माटोमा, यहीँका जनताको घरदैलोमा हुर्केको मान्छे हुँ। यहाँका रोहिणी, ओमसतिया, तिलोत्तमा वा देवदहका हरेक क्षेत्रका समस्यालाई मैले विगतदेखि नै सम्बोधन गर्दै आएको छु। अरू उम्मेदवारले भन्दा यहाँको धरातलीय यथार्थ र विकासको आवश्यकता मैले बढी बुझेको छु जस्तो मलाई लाग्छ। समृद्धिको जुन खाका हामीले कोरेका छौँ, त्यसैका कारण क्षेत्र नम्बर १ का आम मतदाता, राजनीतिक कार्यकर्ता र सबै शुभेच्छुकले मलाई अत्यधिक मत दिएर जिताउनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ।
युवाहरू विशेषगरी नयाँ पुस्ता राजनीतिप्रति निराश देखिन्छन्, उनीहरूलाई कसरी आश्वस्त पार्नुहुन्छ ?

तपाईंले एकदमै महत्त्वपूर्ण कुरा उठाउनुभयो। नयाँ पुस्ताका युवाहरूले जुन सुशासन, भ्रष्टाचारको अन्त्य र सञ्चार माध्यमको स्वतन्त्रताको माग राखेर आन्दोलन गर्नुभएको थियो, ती मागहरू हाम्रा पनि हुन्। हामी युवाहरूलाई नेतृत्वमा पु¥गाउनुपर्छ भन्ने कुरामा दृढ छौँ, तर राज्यसत्ता सञ्चालन गर्न सबै उमेर समूहको अनुभव र ऊर्जाको एकता चाहिन्छ। हाम्रो पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनले युवाहरूलाई नेतृत्वमा स्थापित गर्ने ऐतिहासिक निर्णय गरेको छ र अहिले धेरै ठाउँमा युवाहरू उम्मेदवार हुनुहुन्छ। यो क्षेत्रकै कुरा गर्दा पनि हामी ६० कटेका दुई जना मात्र छौँ, अरू सबै ५० को हाराहारीको युवा साथीहरू हुनुहुन्छ। हामी युवालाई चटक्क छोडेर होइन, उहाँहरूलाई सँगसँगै नेतृत्वमा स्थापित गर्दै अगाडि बढ्ने योजनामा छौँ।
यहाँ उम्मेदवारको ताँती नै लागेको छ, तीमध्ये मतदाताले तपाईंलाई नै किन मतदान गर्नेरु तपाईंको मुख्य प्रतिस्पर्धी को हो ?
चुनावी मैदानमा उत्रेका सबै उम्मेदवारहरू मेरा प्रतिस्पर्धी हुन्, मैले फलानो नै भनेर किटान गरेको छैन। तर मतदाताले मलाई रोज्ने मुख्य कारण भनेको मेरो संघर्षपूर्ण इतिहास र विकास प्रतिको भिजन हो। यो गणतन्त्र र लोकतन्त्र प्राप्तिका लागि म निरन्तर लडिरहेको छु र यसलाई संस्थागत गर्ने स्पष्ट दृष्टिकोण म मा छ। म सधैँ जनताको बीचमा रहेर उहाँहरूको सुख–दुःखमा भिजेको मान्छे भएकाले उहाँहरूले मलाई नै सबैभन्दा बढी विश्वास गर्नुहुन्छ। मलाई आफ्नो विचार राख्ने अवसर दिनु भएकोमा तपाईं र तपाईंको मिडियालाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु।




