
भैरहवा, ७ फागुन । सिद्धार्थनगर स्थित काशी नोबल एकेडेमीले वार्षिक सांस्कृतिक कार्यक्रम सुरु गरेको छ। कार्यक्रमअन्तर्गत बुधबार नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीले काशी नोबल एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई अब्बल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको उल्लेख गररे। २१औँ शताब्दीमा विद्यार्थीको चौतर्फी विकास आवश्यक रहेको बताउँदै उनले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्ने विश्वास व्यक्त गरे।


विद्यालय सञ्चालक समितिका अध्यक्ष टोप बहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश कोषाध्यक्ष महेश भुर्तेल, प्याब्सन सिद्धार्थनगर अध्यक्ष उदय कुमार मल्लिक, सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष समसाद इद्रिसी, चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोका लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले विद्यालयले सञ्चालन गरेका शैक्षिक तथा अतिरिक्त क्रियाकलापबारे जानकारी गराउँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सबैलाई मञ्चमा अवसर प्रदान गरिएको बताउनुभयो। वि.सं. २०५२ सालमा स्थापना भएको विद्यालयले तीन दशकको यात्रा सफलतापूर्वक पार गरिसकेको छ र हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको उनले जानकारी दिए।

कार्यक्रमको सञ्चालन सह–प्राचार्य श्री रायमाझीले गरेका थियो। काशी नोबल एकेडेमी अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित संस्था समेत हो ।




