स्थानिय समस्यालाई राष्ट्रियकरण गर्न आफ्नो उम्मेदवारीः सुशिल गुरुङ

यतिबेला देश निर्वाचनमय भएको छ । फागुुन २१ गतेको निर्वाचनकोलागि देशैभर विभिन्न दलका मात्रै होइन स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरु पनि घरदैलो गरिरहेका छन् । विषेश परिवेशमा हुुन गईरहेको प्रतिनिधीसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरु नेपाल वर्ड डटकमले उम्मेदवारसँग ५ प्रश्न निर्वाचन विशेष स्तम्भ शुरु गरेको छ । निर्वाचन विशेषको सो स्तम्भकोलागि रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शुुसील गुुरुङसँग हाम्रा सहकर्मि मनोज क्षेत्री र प्रतिक पौडेलले गरेको कुराकानिको सम्पादित अंश

स्वागत छ , घरदैलोमा हुनुहुन्छ, मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

धन्यवाद । मतादाताको प्रतिक्रियाले हामीलाई एकदमै उत्साहित गराएकोछ । गएको माघ ५ गते मनोनयन दर्ता गरेपछि सुरुमा हामीले निर्वाचन आचारसंहिताको सम्मान गर्दै पार्टीका आन्तरिक संगठन बलियो बनाउने काम गर्यौँ। फागुन ४ गतेबाट निर्वाचन आयोगको निर्देशिका अनुसार पम्प्लेट, घोषणापत्र र झन्डासहित हामी मतदाताको घरदैलोमा पुगेका छौँ। क्षेत्र नं. ३ का विभिन्न वडा र टोलहरूमा जाँदा कार्यकर्ता मात्र होइन, आम मतदाता पनि धेरै खुसी देखिनुहुन्छ। उहाँहरूको सल्लाह र सुझाव नै हाम्रो लागि हौसला भएको छ।

जनताले यसपटक कांग्रेसलाई नै किन भोट दिने? के छ त्यस्तो परिवर्तन?

यसपटक कांग्रेसको नीति र नेतृत्व दुवै परिवर्तन भएको छ। केन्द्रदेखि टोल तहसम्मै पाटिमा नयाँ रक्तसञ्चार भएको छ । “कांग्रेस बदलियो, अब यसले मुलुकलाई नयाँ दिशा दिन्छ“ भन्ने आम जनमानसको बुझाइ छ। म एउटा उम्मेदवारको रूपमा मात्र होइन, एउटा संकल्प बोकेको युवाको रूपमा पनि जनतामा आशा जगाउन सफल भएको महसुस गरेको छु।

तपाईँले जित्ने मुख्य आधार र जनतालाई सुनाइरहेका मुख्य एजेन्डाहरू के–के हुन्छ?

मुख्य कुरा त यो क्षेत्रको प्रतिनिधित्व गर्ने नेतृत्व विगतमा कमजोर भयो। सदनमा हाम्रा समस्या राख्ने बलियो स्वर भएन। म ती स्थानीय समस्यालाई ’राष्ट्रियकरण’ गर्न आएको हुँ। मेरा एजेन्डाहरू स्पष्ट छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान, सेजलाई पूर्ण रुपमा सन्चालन, आइसीपी सन्चालन, फोहोरमैला व्यवस्थापनको पूर्ण ब्यवस्थापन जरुरी छ ।

किसानलाई समयमै मल, उन्नत बीउ र सिँचाइको व्यवस्था जरुरी छ । सबैभन्दा ठूलो कुरा बिचौलियाको अन्त्य गरी किसानलाई उचित मूल्य दिलाउने नीति निर्माण जरुरी छ । बेलहिया नाकालाई व्यवस्थित गरी पर्यटकहरूलाई स्तरीय सेवा दिने र लुम्बिनीको प्रवेशद्वारको रूपमा यसको विकास गर्ने लक्ष्य राखिएको छ । यस क्षेत्रलाई शैक्षिक र स्वास्थ्य हबको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । अहिले लगानीको वातावरण नहुँदा उद्योगीहरूको मनोबल गिरेको छ। निजी क्षेत्रसँग समन्वय गरेर रोजगारी सिर्जना गर्ने मेरो योजना छ।

युवाहरू राजनीति र दलहरूसँग निकै निराश देखिन्छन्, उनीहरूलाई कसरी आश्वस्त पार्नुहुन्छ ? र, उम्मेदवारको भीडमा तपाईलाई नै मतदाताले तपाईँलाई नै किन रोज्ने ?

निराशा हुनु स्वाभाविक हो, तर समाधान भागेर हुँदैन । कांग्रेसले यसपटक १६५ क्षेत्रमध्ये १०८ जना नयाँ र युवा उम्मेदवार उठाएर एउटा ठूलो आँट गरेको छ। म आफैँ एउटा सामान्य परिवार र जनजातिको छोरा हुँ। २०६१ मा त्रिभुवन विश्वविद्यालयबाट डिग्री पास गरि सकेपछि मैले विदेश जाने विकल्प रोजिनँ। म आफ्नै ठाउँमा केहि गर्छु भनेर यहिको माटोमा विभिन्न काम गरिरहेँ । म यहीँ जन्मेँ, यहीँका १४–१५ वटा संघसंस्था हाँकेँ। म युवाहरूलाई भन्न चाहन्छु— जहाँ समस्या छ, त्यहीँ समाधान खोज्नुपर्छ। दाहिने हातमा चोट लागेपछि प्लास्टर हातैमा गर्नुपर्छ, खुट्टामा गरेर हुँदैन। हामी युवाहरू नै जाग्नुपर्छ र पार्टीभित्र लडेरै भए पनि परिवर्तन ल्याउनुपर्छ।

हाे ,तपाईले भने जस्तै हाम्रो क्षेत्रमा ३६ जना उम्मेदवार हुनुहुन्छ, सबैलाई सम्मान छ। तर म यो माटोको ’अर्गानिक उम्मेदवार’ हुँ। जसरी अर्गानिक चिज स्वास्थ्यका लागि राम्रो हुन्छ, म पनि यहीँको सुख–दुःखमा भिजेको मान्छे हुँ। अन्य ’हाइब्रिड’ वा ’बोइलर’ उम्मेदवारहरू चुनाव जिते वा हारेपछि यहाँ बस्छन् कि बस्दैनन् भन्ने ठेगान छैन। म तामा–तुलसी खाएर वा कागजमा ल्याप्चे लगाएर भन्न सक्छु— फागुन २१ गतेपछि पनि म यहीँ हुनेछु। मेरो अन्तिम श्वास सम्म म यहि हुनेछु र मेराे अन्त्येष्टि पनि यही सिद्धार्थनगरको डण्डा खोलामै हुनेछ। मतदाताले यो कुरा बुझ्नुपर्छ।

कांग्रेसभित्रको गुटबन्दीले चुनावमा असर गर्दैन? तपाईँको प्रतिस्पर्धा कोसँग हो?

कांग्रेस पूर्ण रूपमा एकढिक्का छ। कांग्रेस लोकतान्त्रिक पार्टी हो, यहाँ विचारको मन्थन हुन्छ, वादविवाद हुन्छ। हामीले त अहिले बैठक नै लाइभ गरेर पारदर्शिता देखाएका छौँ। अन्य पार्टीमा समस्या गुम्सिएर बसेका छन्। हाम्रोमा महाधिवेशनसम्म केही मतभेद थिए होलान्, तर अहिले नेतृत्व स्थापित भइसकेपछि सबै साथीहरू काँधमा काँध मिलाएर हिँडिरहनुभएको छ। यो एकता फोटो खिच्नका लागि मात्र होइन, अन्तरात्मा देखि नै हो। हाम्रो जितको आधार पनि हाम्रो एकता हो ।मेरो प्रतिस्पर्धा कसैको विरोधमा छैन। म कसैलाई गाली गर्दिनँ। मतदाता विवेकशील हुनुहुन्छ। रक्सी, मासु वा पैसाको लोभमा नपरी, कसैको लहडमा नलागी आफ्नो र सन्तानको भविष्य हेरेर मतदान गर्न अनुरोध गर्दछु।

विगतका प्रतिनिधिहरू संसद्मा बोलेनन्, पार्टीको पावर पोलिटिक्समा मात्र अल्झिए। म संसद्को रोस्टममा गएर रुपन्देहि ३ का मतादाताको समस्या, पीडा दमदार ढंगले तर्कपुर्ण रूपमा राख्ने प्रतिबद्धता जनाउँछु। म सधैँ जनताको सेवक भएर काम गर्नेछुु । रुपन्देहीका याेजनालाई प्राथमिकता दिएर नीति बनाउन लागि पर्नेछु । तपाईले सुन्नु नै भएकाे हाेला  १२ वर्षपछि खोलो फर्किन्छ भन्ने कुरा , हाे त्यहिँ भनाई झैं यो क्षेत्रमा कांग्रेसको पक्षमा ’खोलो फर्किने’ निश्चित छ। हाम्रा मतादताहरुले कांग्रेसको रुख चिन्हलाई मतदान गरी सेवा गर्ने मौका दिनुुहुने विश्वास छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5