
भैरहवा, तमु ये ल्हू संघ, केन्द्रीय समिति रूपन्देहीले आफ्नो रजत महोत्सव–२०८२ को अवसरमा पत्रकार सम्मेलन आयोजना गरेको छ। आगामी कार्यक्रमको तयारी तथा उद्देश्यबारे जानकारी दिन आयोजित सम्मेलनमा संघका पदाधिकारीहरूले महोत्सवलाई भव्य रूपमा मनाउने जानकारी दिएका छन्।
कार्यक्रममा बोल्दै संघका सङ्घका अध्यक्ष कृष्ण बहादुर तमुले विगत २५ वर्षदेखि भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। रजत महोत्सवका अवसरमा सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम, अन्तरक्रिया तथा विविध सामाजिक गतिविधिहरू सञ्चालन गरिने जानकारी दिए।

संघले आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरी २६औँ वर्षमा प्रवेश गरेको अवसरमा भव्य रूपमा महोत्सव मनाउने तयारी गरेको जनाएको छ। संघका प्रतिनिधिले तमु जातिको धर्म, संस्कार र संस्कृतिको जगेर्ना, संरक्षण र विस्तार गर्नु संस्थाको मूल उद्देश्य रहेको स्पष्ट पारे।
कार्यक्रममा सङ्घका सचिव जोशन तमुले संस्थाले विगतदेखि शिक्षा, स्वास्थ्य, खेलकुद तथा संस्कृतिको प्रवर्द्धनमा निरन्तर रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। युवालाई संस्कृतिप्रति जोड्ने उद्देश्यले विभिन्न तालिम, सांस्कृतिक अभ्यास तथा सामाजिक सेवामूलक गतिविधि सञ्चालन गरिएको उनले बताए।
पत्रकार सम्मेलनमार्फत आयोजकले रजत महोत्सवलाई केवल उत्सवमा सीमित नराखी तमु समुदायको इतिहास, पहिचान र एकताको सन्देश फैलाउने अवसरका रूपमा विकास गर्ने लक्ष्य राखिएको स्पष्ट पारे। महोत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति, परम्परागत नृत्य, गीत तथा भेषभूषाको प्रदर्शनसमेत गरिने जनाइएको छ।
आयोजकका अनुसार महोत्सवले समुदायभित्र आपसी सद्भाव बढाउनुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै सम्पूर्ण भैरहवाबासीलाई कार्यक्रममा सहभागी भई उत्सवलाई सफल बनाउन आग्रहसमेत गरिएको छ।




