स्याङ्जाली परिवार रुपन्देहीद्वारा वृहत खुल्ला रक्तदान तथा स्वागत कार्यक्रम सम्पन्न

स्याङ्जाली परिवार रुपन्देहीको १८ औं स्थापना दिवसको अवसरमा बुधवार भैरहवा खुल्ला रक्तदान एवं स्वागत कार्यक्रम गरेको छ। बुधबार भैरहवाको बुद्धचोकमा आयोजित उक्त कार्यक्रममा खुल्ला रक्तदानसँगै विभिन्न स्थानबाट रुपन्देही सरुवा भई आएका सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई स्वागत गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले संस्थाले गर्दै आएको सामाजिक कार्य सराहनीय भएको बताउँदै यस्ता कार्यलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, विशिष्ट अतिथि भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले संस्थाले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा युवा पुस्तालाई अझ सक्रिय रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

संस्थाका संस्थापक अध्यक्ष डि.आर. शर्माले संस्थाले स्थापना कालदेखि नै सबैलाई समेटेर अघि बढिरहेको बताउँदै अबका दिनमा बढीभन्दा बढी युवालाई साथमा लिएर अगाडि बढ्ने योजना रहेको बताए। उनले युवालाई क्रमशः सिकाउँदै नेतृत्व विकास गरिने धारणा व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख सालीकराम पौडेल, भूमिगत सिँचाइ आयोजना रुपन्देहीका प्रमुख कृष्णप्रसाद उपाध्याय, राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रमुख अर्जुनप्रसाद अर्याललगायतलाई स्वागत गरिएको थियो।

खुल्ला रक्तदान कार्यक्रमबाट १३ पिन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक विष्णुप्रसाद मरासिनीले जानकारी दिए।

कार्यक्रममा स्याङ्जाली परिवार रुपन्देहीका उपाध्यक्ष वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेल, संस्थाका सल्लाहकार, क्षेत्रीय अध्यक्षलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5