भैरहवा बहुमुखी क्याम्पसमा खेलकुद महोत्सव–२०८२ आयोजना हुँदै ।

भैरहवा, २० माघ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीको आयोजनामा खेलकुद महोत्सव–२०८२ माघ २१ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सवको तयारीका सम्बन्धमा आज क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी विस्तृत जानकारी गराइएको हो ।
खेलकुद महोत्सवको उद्घाटन माघ २१ गते बिहान ७:३० बजे म्याराथन दौडबाट गरिनेछ । म्याराथन लुम्बिनी गेटबाट सुरु भई बुद्धचोक, देवकोटा चोक हुँदै क्याम्पस परिसरमा पुगेर समापन हुनेछ ।
महोत्सवमा स्नातक तहका विभिन्न संकाय तथा अध्ययन संस्थानहरू—BA, BBS, B.Ed, B.Sc, BBM, BBA, BCA, B.Sc CSIT र BIT—बीच खेलकुद प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताअन्तर्गत क्रिकेट (छात्र), भलिवल (छात्र/छात्रा), फुटबल (छात्र), व्याटमिन्टन (छात्र/छात्रा), टेबल टेनिस (छात्र/छात्रा), १०० मिटर र २०० मिटर दौड (छात्र/छात्रा), सटपुट (छात्र/छात्रा), बास्केटबल, चेस, E-Esport तथा म्याराथन समावेश छन् ।
खेलकुद महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहायक क्याम्पस प्रमुख इन्द्रबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय मूल समिति गठन गरिएको छ । क्याम्पस प्रमुख कार्यक्रमको संरक्षक रहनेछन् भने सहायक प्रमुखद्वय श्री गणेशप्रसाद पाण्डे र श्री शंकर पन्थीलाई कार्यक्रम अनुगमनको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, क्याम्पस विद्यार्थी कल्याण प्रमुख श्रीमती अरुणा कुमारी भुसालको संयोजकत्वमा लेखा शाखा र भण्डार शाखा प्रमुख सदस्य रहने गरी ३ सदस्यीय खेलकुद सामग्री व्यवस्थापन समिति गठन गरिएको छ । विभिन्न खेलकुदका लागि छुट्टाछुट्टै उपसमितिहरू पनि गठन गरिएको जनाइएको छ ।
खेलकुद प्रतियोगितामा क्रिकेटतर्फ २० टिम, भलिवलतर्फ १२ टिम, फुटबलतर्फ ६ टिम, बास्केटबलतर्फ ६ टिम, व्याटमिन्टनमा ९८ जना, टेबल टेनिसमा ६२ जना, १०० मिटर दौडमा ४० जना, २०० मिटर दौडमा ३० जना, सटपुटमा ५० जना, चेसमा १२० जना तथा म्याराथनमा ४० जना खेलाडीको सहभागिता रहने कार्यक्रमका सहसंयोजक तथा क्याम्पसका BBA, BBM का डाईरेक्टर पिताम्बर तिवारीले जानाकारी दिए ।
प्रतियोगितामा विजयी हुने टिम तथा खेलाडीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम सफल बनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सरोकारवाला पक्षको सक्रिय सहभागिताको अपेक्षा गरिएको क्याम्पस प्रमुख लक्कीप्रसाद जोशीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5