रुपन्देही जिल्ला ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण

भैरहवा, १९ माघ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण गरेको छ । संस्थाले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवा, रुपन्देहीलाई सोल्जर लाईट र ज्याकेट सामग्री हस्तान्तरण गरेको हो ।

माघ २२ गते परेको संस्थाको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले बताए । उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीमा रहेका उपकरणहरुमा पनि क्षति पुगेको कुरालाई मध्यनजर गर्दै आवश्यक सामग्री प्रदान गरिएको बताए । अध्यक्ष रोक्काले चेम्बर अफ कमर्श, रुपन्देहीले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदै आएको बताए ।

संस्थाका सह–कोषाध्यक्ष तथा ट्राफिक सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक सन्तोष शुक्लाले कार्यालयलाई ६५ वटा सोल्जर लाईट र १५ थान ज्याकेट प्रदान गरिएको बताए । उनले कार्यालयसँग समन्वय गरेर यहाँ आवश्यक सामग्रीबारे जानकारी लिइ उक्त सामग्री प्रदान गरिएको जानकारी दिए । आगामी दिनमा पनि कार्यालयलाई आवश्यक सहयोग गरिने उहाँले प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीले संस्थाले कार्यालयलाई ‘बहमूल्य सामग्री’ रहेको बताइन । उहाँले समाजका लागि प्रहरीले काम गर्ने क्रममा चेम्बर अफ कमर्श, रुपन्देहीले सहयोग गर्नु सराहनीय रहेको भन्दै आभार व्यक्त गरिन ।

चेम्बर अफ कमर्श, रुपन्देहीको महासचिव लक्ष्मी अधिकारीका अनुसार १९ औं स्थापना दिवसको अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । जसअन्तर्गत योग ध्यान शिविर र मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ । माघ १९ गते सोमबार (आज) वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण, २० गते माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, २१ गते सरसफाई कार्यक्रम र माघ २२ गते स्थापना दिवस समारोह तथा सम्मान कार्यक्रम आयोजना गरिएको महासचिव अधिकारीले जानकारी दिइन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5