
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बौद्ध सर्किट र समग्र लुम्बिनीको विकासका लागि प्रदेश सरकारले ‘लुम्बिनी पर्यटन सर्किट’ को अवधारणा अघि बढाएको बताएका छन् ।
तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले ‘लुम्बिनी पर्यटन सर्किट’ को अवधारणा अघि बढाएको बताउदै यसले लुम्बिनीलाई नयाँ उचाइमा पुर्याउने जनाए ।

नेपाल पर्यटन व्यवसायी संघ (नाट्टा) को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष लगायतका निकायहरूको सहकार्यमा यात्राकाे आयाेजना गरिएको थियाे ।
आचार्यले लुम्बिनीलाई केन्द्रमा राखी देवदह, रामग्राम, तिलौराकोटलगायत सम्पदालाई जोड्दै बौद्ध सर्किटको विकासलाई उच्च प्राथमिकतामा राखिएको बताए । लुम्बिनी विकास गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा लुम्बिनी विकास प्राधिकरण गठनको तयारी भइरहेको जानकारी पनि उनले दिए ।
त्यस्तै, उनले बीआईटीएमको सन्दर्भमा भारत, चीन, श्रीलंका, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्ड्स लगायतका मुलुकबाट आएका ट्राभल एजेन्टहरू तथा बीबीसी, अलजजिरा, सीसीटीभी, एएफपी, रिउटर, नेशनल जियोग्राफिकजस्ता सञ्चारमाध्यमका प्रतिनिधिहरूप्रति विशेष धन्यवाद व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा चार प्रतिशतबाट सात प्रतिशतमा पुर्याउने र आन्तरिक तथा बाह्य पर्यटकको संख्या २२ लाख नाघ्ने लक्ष्य लिएको जानकारी दिए ।
नेपालको बौद्ध धर्मसम्बन्धी तीर्थ पर्यटन प्रवर्द्धनका लागि केन्द्रित यो यात्रा नेपालसहित अन्तर्राष्ट्रिय बजारमा बौद्ध पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण मानिएको छ । यात्रामा पर्यटन क्षेत्रका सरोकारवाला, आध्यात्मिक व्यक्तित्व, प्रदर्शक तथा विदेशी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
प्रदेश सरकारको नेतृत्वमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्न पहल भइरहेको छ ।
यस यात्राले नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्दै, विशेषतः लुम्बिनीलाई विश्वसामु अझ सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ ।




