
“माछा गाउँ” को नामले परिचित सियारी गाउँपालिका माछा उत्पादनको लागी राष्ट्रिय स्तरमै सुपरिचित छ । गाउँपालिकाको ३ सय घरधुरी माछा पालनमा आबद्ध रहेका छन् र ४ सय १५ हेक्टरमा माछा पालन हुने गरेको छ ।
भैरहवाबाट १४ किलोमिटर उत्तर–पश्चिमको सियारी गाउँपालिकाका किसानहरूले पछिल्लो समय माछा पालनमा मात्रै सीमित नभएर उत्पादित माछाको बजार विस्तार गर्ने उपायको खोजी पनि गरिरहेका छन् ।

विगतमा जिउँदो माछा पसल मार्फत माछा बिक्री गरिरहेका यस क्षेत्रका किसानहरूले पछिल्लो समय फ्रोजन माछा उत्पादन गर्न सुरु गरेका हुन् । ब्लास्ट फ्रोजन प्रविधि बाट ताजा माछा प्रशोधन केन्द्र स्थापना गरेर बिक्री गर्न सुरु गरेका छन् किसानहरु ।
गाउँपालिकाको ३ सय ३० माछा पालक किसानहरू सदस्य रहेको श्री जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लिमिटेडमा फ्रोजन माछा उत्पादन हुने गरेको छ । बि सं २०७८ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ४८ लाख अनुदान र ९ लाख ४० हजार सहकारीको लागत सहभागितामा ब्लास्ट फ्रोजन प्रविधि बाट ताजा माछा प्रशोधन केन्द्र स्थापना भएको थियो ।
सहकारीका पूर्व अध्यक्ष गणेश शाहीले गाउँपालिकामा माछाको उत्पादन ४० वर्ष देखि भइरहेको तर विगत ६-७ वर्ष देखि माछामा किसानहरूले पाउनुपर्ने मूल्य नपाइरहेको अवस्थामा फ्रोजन प्रविधि भित्र्याएर अपसिजनको लागी स्टक गरेर बिक्री गर्ने सोचका साथ ब्लास्ट फ्रोजन प्रविधि सुरु गरेको बताए ।
केन्द्रमा सबैभन्दा पहिला माछाहरू पोखरी बाट ल्याएर कत्ला, भुँडी लगायत राम्रै सफा गरिन्छ । सफा गरेपछि चिस्याउनको लागी केन्द्रमा रहेको २ वटा कन्टेनर माछालाई राखेर चिस्याउने गरिन्छ । माछा चिसोले जम्छ । चिस्याएका माछाहरूलाई मेसिन बाट सानो पिस बनाएर काटिन्छ । त्यसपछि प्याकिङ गरेर बजारमा पठाउने गरिएको छ ।
बि सं २०७८ सालमा स्थापना भए पनि सुरुवाती समयमा विभिन्न प्राविधिक कारण र गुणस्तरको अनुमति समयमै नपाउँदा उत्पादित फ्रोजन माछा बजारमा आउन सकेको थिएन । तर गत २०८१ माघ बाट भने फ्रोजन माछा उपभोक्ताको लागी बजारमा आएको छ । गत माघ देखि चैत सम्म ३ महिनाको अवधिमा ७ सय केजी फ्रोजन माछा उत्पादन गरेर बेच्न सफल भएको छ केन्द्र ।
सहकारीले अहिले पनि बजार भने उचित रूपमा पाउन भने सकिरहेको छैन । यसपछाडि केही कारणहरू रहेका छन् । फ्रोजन माछा प्रति आम सर्वसाधारणमा विश्वासको कमि ले गर्दा अझै राम्रो बजार पाउन नसकेको सहकारीका अध्यक्ष थमन पौडेल बताउछन् ।
गाउँपालिकामा उत्पादित फ्रोजन माछा बिक्री गर्नको लागी विभिन्न जिल्लामा बिक्रेता केन्द्रहरू खोलिएका छन् । यसको लागी गाउँपालिका कार्यालयले समेत सहयोग गरेको छ । सियारी गाउँपालिकाले सिडिएम नेपालको सहयोगमा सहकारीलाई फ्रोजन माछाको बजारीकरणका लागी १८ वटा फ्रिज अनुदानमा दिएको छ । जसको सहयोग बाट सहकारीले हालसम्म स्याङ्जा, पाल्पा, रुपन्देही र गुल्मी गरी ९ ठाउँमा फ्रोजन माछाको बिक्री केन्द्र सञ्चालनमा ल्याउन सफल भएको छ ।
गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारी गाउँपालिकामा उत्पादित माछाको बजारीकरणको लागी सहकारी सँग छलफल गरी प्रभावकारी योजना ल्याउने काम भइरहेको बताए । सियारीको ४ सय १५ हेक्टरमा २ हजार ५ सय २६ मेट्रिक टन माछा उत्पादन हुन्छ ।




